
काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं सांसद गगन थापाले डा. गोविन्द केसीको मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक पारित गर्न सफल भएकोमा सरकारलाई बधाई भन्दै व्यंग्य गरेका छन् ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा गगनले भने- 'एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो, त्यो पनि दुईतिहाइको सरकारसँग, यस्तो बलियो सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ ।'
साथै उनले कांग्रेसको विरोधका बीच विधेयक पारित गर्ने सत्ता पक्षीय सांसद्हरूप्रति पनि व्यंग्य गरे ।
'सरकारको यस्तो अपार सफलतामा सरकार बनाउने सांसदहरू खुशी नहुने कुरै भएन,' गगनले थपे, 'लोकमानसिंह कार्कीदेखि लिएर कालिकास्थानको टहरामा मेडिकल कलेज चलाउन खोज्नेसम्म खुशी भएका छन् । यत्रो जमातलाई खुशी बनाउने कम्युनिस्ट सरकारलाई बधाई छ ।'
निकै चोटिलो भाषण गरेका गगनले थपे – 'सरकारको दुईतिहाइको दम्भ देख्नै पाएका थिएनौं । अनेक ठाउँमा दुई तिहाइको दम्भ देख्न पाएनौं । कमरेड मनमोहनका लागि दुईतिहाइ पुर्याउन नसके पनि कमरेड 'मार्सीमोहन'का लागि दुईतिहाइ पुर्याउन सकेकोमा बधाई छ ।'
स्मरण रहोस्, झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घरमा नेकपा अध्यक्षद्वयले मार्सी चामलको भात खाँदै गरेको तस्वीर केही महिनाअघि सार्वजनिक भएको थियो । हालै संसद्बाट पारित चिकित्सा शिक्षा विधेयकले प्रसाईंलाई मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको भन्दै गगनले उनको नाम जोडेर सरकारप्रति कटाक्ष गरेका हुन् ।
अर्थतन्त्र संकटउन्मुख रहेको र कुनैपनि बेला ढल्न सक्नेभन्दै गगनले प्रधानमन्त्रीको इमानमा ठेस र विश्वासमा डडेलो लागेको बताए ।
आफ्नो दायाँबायाँ सबैतिर भ्रष्टाचारी रहेपनि प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै हेर्दिन भन्दा आफूलाई चिन्ता लगेको उनको भनाइ छ । 'प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै हेर्दिन भन्नुभयो, तर उहाँको दायाँबायाँ सबैतिर भ्रष्टाचार छ,' गगनले भने, 'जलविद्युतमा भ्रष्टाचार, विमानमा भ्रष्टाचार ….., मलाई त डर लाग्न थालेको छ ।'