
नयाँदिल्ली– अमेरिकाको एक नक्कली विश्वविद्यालयमा भर्ना भएका १२९ भारतीय विद्यार्थीलाई नियन्त्रणमा लिइएपछि भारतले कूटनीतिक विरोध जनाएको छ । अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालय (होमल्यान्ड सेक्युरिटी)का गुप्तचरहरूले ‘पे–टु–स्टे’ भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन नक्कली विश्वविद्यालय स्थापना गरेका थिए ।
कागजमा सीमित फर्मिङ्टन विश्वविद्यालय मिसिगन राज्यमा रहेको भनी विज्ञापन गरिएपछि विभिन्न देशका विद्यार्थीले अध्ययनका लागि भर्ना गरेका थिए । अभियोजकहरूले विद्यार्थीलाई विश्वविद्यालय अवैध हो भन्ने पहिले नै जानकारी भए पनि भर्ना भएको दाबी गरेका छन् ।
यद्यपि भारतीय अधिकारीले विद्यार्थीलाई छल गरिएको आरोप लगाएका छन् । अमेरिकामा भारतीय विद्यार्थी पक्राउ परेपछि गम्भीर चासो देखाउँदै भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित अमेरिकी दूतावासमा उनीहरूलाई कन्सुलर पहुँच दिन आग्रह गर्दै कूटनीतिक विरोध जनाएको छ ।