
पर्सा – सीमा क्षेत्रमा हुने लागूऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित ५, ९ सय थान नाइट्रोभेट ट्याब्लेटसहित १ र भन्सार छली भित्र्याइएको ३३ लाख रुपैयाँ बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट ३ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबै अभियुक्तलाई सोमवारै पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्जको रानीघाटबाट ११ किलो चरेससहित रामबालकप्रसाद विण, मकवानपुर थाहा नगरपालिका– ८ निवासी सोमाल थिङ्ग र भारतको कानपुर निवासी मयंक बाजपेईलाई नियन्त्रणमा लिइएको छ ।
सोमवार बिहान १० किलो चरेससहित वीरगञ्ज महानगरपालिका–१६ बाट भारत उत्तर प्रदेश प्रतापगढ निवासी मैनुदिन अन्सारी र भारत बिहार मोतिहारी निवासी अमरुल्लाह अन्सारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
वीरगञ्जको इनर्वाबाट ९ सय थान नाइट्रोभेट ट्याब्लेटसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–९ निवासी दिपेन्द्र पनेरुलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले बताए ।
यसैबीच सोमवार बिहान ठोरी गाँउपालिका–२ बाट लु१ख ३३१० नम्बरको ट्रकबाट ९ गाठ कपडा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ट्रकधनी चितवन माडी–२ निवासी ऋषि सुवेदी, चालक कुमार राई र सहचालक सुजन राईलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले बताए ।
लागूऔषधसहित पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने बरामद भएको कपडा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।