
काठमाडौं – निजी नम्बरी जग्गाका काठलाई छुटपुर्जी दिन १० हजार रुपैयाँ घुस लिएको अवस्थामा ४ जना वनका कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले घुससहित चारै जनालाई पक्राउ गरेको हो ।
अख्तियारका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले विज्ञप्ति जारी गर्दै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित सुर्खेत रोडबाट पक्राउ गरेको जनाइएको छ ।
‘सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय नेपालगञजबाट खटिई गएको टोलीले निज रेन्जर जगविर खत्री, फरेस्टर द्वय बहादुर केसी, केशवबहादुर वली र वनरक्षक हरीकुमार चन्दले सेवाग्राहीसँग रू. १०,०००।– (दश हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।