
संखुवासभा – भोजपुर र संखुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण कार्य अलपत्र परेको छ ।
काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माण कार्यको ठेक्का २०६७ सालमा स्वच्छन्द निर्माण कम्पनीले पाएको थियो । विभिन्न कारण देखाउँदै ठेकेदार भागेपछि ५ वर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको छ ।
विक्रम संवत् २०७२ मा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधामात्रै उठाइएको छ । सडक विभागको बेवास्ता र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्यले पूर्णता पाउन नसकेको हो ।
पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको छ ।
लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि त्यसभेगका ७० हजार बढी नागरिकले सास्ती खेप्नु परेको षडानन्द नगरपालिकाका सुरेश भण्डारीले बताए । शिलान्यास भएको ८ वर्षमा पुल निर्माण २० प्रतिशत मात्र हुनुमा सडक विभाग नै दोषी भएको उनको भनाइ छ ।
लम्सुवा घाटको पुल निर्माण नहुँदा जोखिम मोलेर काठको डुंगाबाट अरुण नदी वारपार गर्नुपरेको भोजपुरका चन्द्रबहादुर श्रेष्ठले बताए । उनले भने, ‘पुल नहुँदा दैनिक उपभोग्य सामाग्रीमा महंगो शुल्क तिर्नुपरेको छ ।’ यता षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले पुल निर्माणका लागि संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए ।
उनले स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काम कुनै कसर बाँकी नभएको स्पष्ट पारे । विक्रम संवत् २०६७ मा तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । पुल निर्माणको ८ वर्ष बित्दा ७ पिलर मात्र ठड्याइएको छ । ३ वषभित्र निर्माण सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले विक्रम संवत् २०६७ असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदार कम्पनीले काम छोडेर भागेको छ ।
लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । भोजपुर र संखुवासभा आवतजावत गर्ने स्थानीयवासी हिउँदको समयमा जोखिम मोलेर डुंगाको सहाराबाट अरुण वारपार गर्छन् भने वर्षात्को समयमा अढाइ घण्टाको बाटो घुमेर सतिघाट वा तुर्केपुलबाट वारपार गर्नुपरेको छ ।