
धनगढी – कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवारबाट शुरू हुने सर्वाधिक धनराशीको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रवार पत्रकार सम्मेलन गरी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
कार्यक्रममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स, नेपालका विनोद दास सहित प्रतियोगितामा सहभागी हुने टोलीले ट्रफी सार्वजनिक गरे ।
फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किंगस र महेन्द्रनगर युनाईटेडले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका विजेता टीमले नगद ३० लाख रुपैयाँसहित ट्रफी पाउने छन् । जसको शनिवार हुने उद्घाटन खेलमा करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोमपाल कामी कप्टान रहेको धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ ।
हरेक खेलका ‘म्यान अफ द म्याच’लाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए ।