
काठमाडौँ– बौद्धनाथ क्षेत्र विकास समिति, तामाङ कल्याण गुठी र बौद्ध तथा मेलम्ची घ्याङ गुठीबीचको विवाद चर्किएको छ ।
त्रिपक्षीय विवादले चरम रुप लिँदा विश्व सम्पदा सूचीमा रहेको पर्यटीय, पवित्रस्थल र बौद्धधर्मका विश्वका अनुयायीको आस्थाको केन्द्र बौद्धनाथ स्तुपा आन्दोलनस्थल बन्न पुगेको छ । १८ औँ शताब्दीतिरै घ्याङ गुठीमा चिनियाँ लामाहरु पुजारीका रुपमा नियुक्ति हुने गरेकोमा क्षेत्र विकास समिति र तामाङ कल्याण गुठीका पदाधिकारीहरुले चिनिया पूजारी हटाइनुपर्ने माग गरेपछि विवाद चुलिएको हो ।
आजको गोरखापत्र दैनिक लेख्छ–त्यसो त घ्याङ गुठीका पुजारी नियुक्ति गर्दा नै गुठी संस्थानले क्षेत्राधिकार किटान गरेको हुन्छ । तर क्षेत्राधिकारलाई दुवैथरीले आ–आफनै किसिमले व्याख्या गर्ने गरेका छन् । गुठी संस्थानले गठन आदेशअनुसार नै बौद्ध स्तुपा मठ परिसरको कित्ता नम्बर १९० र ४७ भित्र धार्मिक कार्य, रेखदेख, राष्ट्रिय अन्तर्राष्ट्रिय धार्मिक गुरुको व्यवस्थापन, स्वागत ब्यानर, पोष्टर, होर्डिङ बोर्ड राख्ने, पूजा स्थल तोक्ने र तोकिएका व्यक्तिले मात्रै गर्न पाउने अधिकार गुठी संस्थान ऐन २०३३ ले दिएकोमा क्षेत्र विकास समितिले चन्दा उठाउने र टहराहरु बनाउने काम गरेको घ्याङ गुठीका प्रमुख भूपतिबज्र लामाले आरोप लगाएका छन् ।
चिनियाँ लामा हटाउन आन्दोलनमा उत्रिएका तामाङ कल्याण गुठीका पदाधिकारीले घ्याङ गुठी फुलबारी बगैँचाको कित्ता नम्बर १२५ को क्षेत्रफल १ रोपनी तीन आना दुई पैसा अतिक्रमण गरी पार्टी प्यालेस र टहरा निर्माण गरेको भूपतिवज्रको दाबी छ । त्यस्तै वौद्धनाथ क्षेत्र विकास समितिले पर्व पूजामा अवरोध गर्ने गरेको, लामा पूजारी र भिक्षुहरुलाई गालीगलौज गर्ने गरेको, राष्टि«य तथा अन्तराष्ट्रिय धर्मगुरुलाई अपमान गर्ने गरेको, स्तुपा परिसरमा गुठीको तालामा फोरेर विकास समितिको ताला लगाएको पनि उनले आरोप लगाएका छन् ।