काठमाडौं — मेक्सिको सीमामा पर्खाल ठड्याउनका लागि पैसा जुटाउन राष्ट्रपति डोनल्ड ट्रम्पले संकटकाल लगाउने निर्णयविरुद्ध १६ वटा अमेरिकी राज्यहरूको गठबन्धनले उनीविरुद्ध मुद्दा हाल्ने भएका छन् ।
ट्रम्पले संकटकाल लगाउने घोषणा शुक्रवार गरेका थिए । कंग्रेसले पर्खाल बनाउनका लागि ५ अर्ब ७० करोड डलर बराबरको रकम स्वीकृत गर्न नमानेपछि ट्रम्पले कंग्रेसलाई बाइपास गर्न त्यो घोषणा गरेका हुन् ।
ट्रम्पविरुद्ध मुद्दा हालेका राज्यहरूले उनीबाट राष्ट्रपतीय अधिकारको दुरुपयोग रोक्न मुद्दा हालेको बताए ।
ट्रम्पको पर्खालमा लगानीलाई विपक्षी डेमोक्रेट पार्टीले विरोध गरेको छ र उनको योजनालाई चुनौती दिइरहने बताएको छ ।
ट्रम्पले संकटकाल घोषणा गर्ने आवश्यकता नरहेको भए पनि पर्खालका लागि लगानी प्राप्त गर्ने आशामा यसो गरिएको बताए । विश्लेषकहरूले उनको यो टिप्पणीले उनका कानूनी जिकिरलाई अप्ठ्यारोमा पार्न सक्ने बताएका छन् ।
बीबीसीबाट