
बुटवल- रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास केन्द्र स्थापना हुने भएको छ ।
सैनामैना नगरपालिकाको वडा नम्बर ७ लम्टैयामा रहेको जग्गामा सीप विकास केन्द्र बनाउन प्रस्ताव गरिएको थियो ।
सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसलाई उत्पादनमा जोड्ने उद्देश्यका साथ देशभर तीन स्थानमा यस्ता सीप विकास केन्द्र स्थापना गर्ने सरकारको तयारीअनुरुप यहाँ बन्न लागेको हो ।
प्रस्तावित जग्गाको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टसहितको टोलीले निरीक्षणसमेत गरेको छ । प्रस्तावित जग्गामा प्राविधिक अध्ययन भने यसअघि नै भइसकेको थियो । मंगलवार मन्त्रीसहितको टोलीले विशेष अवलोकन गरेपछि यही स्थानमा केन्द्र बन्ने लगभग पक्का भएको छ ।
विदेशी कामदारलाई प्रतिस्थापन गरी गरीबी न्यूनीकरण गर्न ठोस योगदान पुर्याई सीपयुक्त जनशक्ति उत्पादन गर्ने र देशको बेरोजगारी समस्यालाई समाधान गर्ने सरकारको लक्ष्य छ । हाल नेपालमा करीब पाँच लाख विदेशी कामदार रहेको अनुमान छ ।
नारायणी पश्चिमका सबै क्षेत्रलाई समेट्ने गरी सैनामैनामा यो केन्द्र बन्ने छ भने त्यसका अतिरिक्त पूर्वको इटहरीमा र अर्को केन्द्र संघीय राजधानी काठमाडौंमा बन्ने भएका छन् । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने सरकारको लक्ष्य हो,’ मन्त्री विष्टले भने ।
सैनामैना नगरपालिका वटा उपलब्ध गराइएको ४० बिघा क्षेत्रफलमा निर्माण हुने प्रतिष्ठानको मंगलवार अवलोकन गर्दै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री विष्टले जग्गा उपयुक्त रहेको बताए । उनले सीपयुक्त दक्ष जनशक्ति निर्माण गरेर उत्पादनमा लगाउने र सोही ठाउँमा थप प्रशिक्षक निर्माण गरेर प्रशिक्षणलाई विस्तार गर्ने गरी केन्द्रको अध्ययन भइरहेको बताए ।
‘स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी न्यूनीकरण गर्न सघाउने लक्ष्य रहेको छ’ मन्त्री विष्टले भने, ‘यसका लागि स्थानीय तहको सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रसँग सहकार्यसमेत गरिने छ ।’
केन्द्रबाट उत्पादित प्रशिक्षकहरूलाई सबै पालिकास्तरमा खटाउने गरी योजना बनाइएको उनको भनाइ छ । ‘सरकारको दीर्घकालीन योजनाअनुसार समृद्धिको अभियानमा जोड्ने गरी काम शुरू भएको छ,’ मन्त्री विष्टले भन्नुभयो, ‘राष्ट्रिय श्रम बजार धान्ने र अन्तर्राष्ट्रिय श्रम बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी जनशक्ति उत्पादन गरिने छ ।’
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पूर्व राजमार्गबाट नजिकै र यहाँका अरू पालिकाहरूसँग पनि समन्वय गर्न सहज हुने गरी सैनामैनामा जग्गा प्रस्तावित गरिएको बताए ।
सीप विकास केन्द्रका लागि जग्गा प्राप्तिको चरण सकिएको छ । केही समयमा नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम शुरू हुने बताइएको छ । डीपीआरलगत्तै भौतिक पूर्वाधार निर्माणका कामहरू अगाडि बढाउने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ । योसँगै रोजगारीका अवसर तथा सम्भावनाहरूको समेत उजागर गर्दै निर्धारित क्षेत्रमा निश्चित अवधिभित्र सीपयुक्त श्रमशक्ति तयार गर्ने सरकारको लक्ष्य रहेको मन्त्री विष्टले बताए ।
केन्द्रमार्फत सीप तथा व्यावसायिक तालिमका अवसरहरू वृद्धि गरी यस्ता तालिमहरू सेवाग्राहीको निकटमै सञ्चालन गर्ने र स्वरोजगारको अवसर सिर्जना गर्ने वातावरण तयार पारिने छ । नेपालमा कार्यरत विदेशी श्रमिकलाई सीपयुक्त नेपाली श्रमिकबाट क्रमशः प्रतिस्थापन गर्दै जानेगरी सीप विकास केन्द्रको अवधारणा बनाइएको मन्त्री विष्टले बताए ।