३० जेठ २०८३, शनिबार

. . . अनि कसरी हट्छ काठमाडौंको सडकबाट धूलो ? [भिडियो रिपोर्ट]

ब्रूमरको प्रयोग बालुवामा पानी !
फागुन ९, २०७५
. . . अनि कसरी हट्छ काठमाडौंको सडकबाट धूलो ? [भिडियो रिपोर्ट]

काठमाडौं – काठमाडौं उपत्यकामा धूलोको समस्या नयाँ होइन । वर्षौंदेखि राजधानीबासी धूलो र धूवाँबाट पीडित छन् । नेता तथा मन्त्रीहरूले धूलोधूवाँ नियन्त्रणको भाषण पटक–पटक दोहोर्‍याउने गरेका छन्, तर समस्या ज्यूँका त्यूँ छ ।

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा धूलोको समस्या कम हुँदै गएको जिकिर संसद्‍मा गरेका थिए । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले धूलोधूवाँको समस्या हल गर्न भन्दै मन्त्रालयमा धूलो नियन्त्रण इकाइ नै गठन गरेको दाबी समेत गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राजधानीका सडकहरू धूलोरहित हुने भाषण गरे । काठमाडौं महानगरको धूलोरहित काठमाडौं उपत्यका अभियानको उद्घाटन उद्घाटनका क्रममा गत मंसिर २२ गते उनले भनेका थिए, ‘अब राजधानी छिर्ने सवारी साधनलाई सफा गरेर मात्र छिर्न दिन्छौं, सडकमा धूलोको समस्या रहने छैन ।’

भाषण धेरै नै भइसक्यो, तर समस्या घट्नुको साटो बढ्दो छ ।

कहाँबाट आउँछ धूलो ?

पछिल्लो केही वर्षयता राजधानीमा धूलोको समस्या बढ्नुको मुख्य कारण हो, सडक विस्तार । त्यसका अलावा खानेपानीको पाइप तथा दूरसञ्चारका फाइबर लाइनहरू गाड्न सडक खन्ने र समयमा त्यसलाई मर्मत नगरी यत्तिकै छाड्ने गरेका कारण पनि धूलोको समस्या आकाशियो ।

समस्याको कारण यसमा मात्र सीमित छैन । त्यसो त पछिल्लो समय विस्तार गरेर चिल्लो बनाइएको कलंकी–कोटेश्वर खण्डमा पनि धूलोले सकस निम्त्याइरहेको छ । चिनियाँ सहयोगमा चिल्लो बनाइएको सडकमा पनि धूलो कहाँबाट आयो त ? यसको जवाफ यस खण्डमा पर्ने विभिन्न चोकहरूमा केहीबेर उभियो भने आफैं पाइन्छ ।

मंगलवार दिउँसो साढे १ बजेतिर सानेपा र बल्खु चोकमा पुग्दा धूलोले अगाडिका सवारी साधनहरू समेत देख्न मुस्किल पर्ने अवस्था थियो । अघिल्ला दिनहरूको झरी बिस्तारै थामिएपछि मुख्य सडक त सुकेको थियो, तर त्यस बाहिरका कच्ची सडकहरू हिलाम्मे थिए ।

यत्तिकैमा कांग्रेस पार्टी कार्यालयतिरबाट एउटा ट्रक रिंगरोडमा उक्लियो । चक्काभरि हिलैहिलो बोकेर ल्याएको ट्रकले रिंगरोडमा करीब १ सय मिटर परसम्म हिलोको लेदो छाडेर अघि बढ्यो ।

घाम चर्किएका बेला त्यो हिलो धूलोमा परिणत हुन के बेर लाग्थ्यो र, एकैछिनमा अरू धूलोसँग मिसिएर वायु मण्डलमा उड्न थाल्यो ।

यो त एउटा उदाहरण मात्र हो, यस्तो समस्या ठाउँठाउँमा छ । मुख्य सडक पिच गरिए पनि शाखा सडक र गल्लीहरू हिलाम्मे हुँदा त्यो हिलो सडकसम्म आएर धूलोको रूप लिइरहेको छ ।

अझ पानी पर्दा भल बगेर सडकभरि हुन्छ । ढलको राम्रो व्यवस्था हुँदा भलमा बगेको हिलो पानी रोकिनेबित्तिकै धूलो बनेर वायु मण्डलमा उड्न थाल्छ । यस्तै समस्याका कारण राजधानीमा धूलोको समस्या घट्नुको साटो बढिरहेको छ ।

ब्रूमर बालुवामा पानी !

त्यसो त धूलो नियन्त्रण गर्न भन्दै काठमाडौं तथा ललितपुर महानगरपालिकाले ब्रूमर समेत प्रयोग गर्दै आएका छन् । धूलो आउने स्रोतमा नियन्त्रण नगर्ने तर सडकको धूलो मात्र टिप्ने काम बालुवामा पानी खन्याए सहर भइरहेको छ । बिहान ब्रूमर लगाएको सडकमा बेलुका धूलो उत्तिकै भइसकेको हुन्छ ।

काम देखाउनका लागि सडकमा ब्रूमर लगाउने महानगरहरूले शाखा सडकको मर्मत् र ढलको राम्रो व्यवस्थापन गर्न ध्यान दिएका छैनन् । यही पारा हो भने ब्रूमरका नाममा खर्च बढिरहने छ र धूलोको समस्या घट्ने छाँटकाँट देखिँदैन ।

 

 

salt training

कमेन्ट गर्नुहोस्