२० असार २०८३, शनिबार

नेकपा पार्टी एकता : केन्द्रमा निर्णय गर्न सकस, महासचिवको गृहजिल्लामा ‘चमत्कार’

फागुन ९, २०७५
नेकपा पार्टी एकता : केन्द्रमा निर्णय गर्न सकस, महासचिवको गृहजिल्लामा ‘चमत्कार’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा विवाद हुँदा पार्टीको एकता टुङगो लगाउन सकस भइरहेको छ । एकता प्रक्रिया टुङगो नलाग्दा पार्टीभित्र विवाद पनि बढ्दै गएको छ । तर नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालको गृहजिल्ला रूपन्देहीमा चामत्कारिक रूपमा पार्टीका टोल कमिटीसम्म गठन भएका छन् ।

पार्टीको उपमहानगर कमिटी, नगर, गाउँ कमिटी, वडा कमिटी हुँदै टोल कमिटीसम्म गठन धमाधम भइरहेका छन् । सबै कमिटीहरू गठन गरी नेकपा संगठन विस्तारमा केन्द्रित भएको देखिन्छ । नेकपा बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले बुटवलमा सबै कमिटीहरू गठन भएर आफूहरू पार्टी प्रशिक्षणमा जुटेको बताए ।

‘बुटवलमा नगर कमिटी घोषणा भएको एक महिनामा २१ वटा शाखा कमिटी गठन गरेका छौं,’ पन्थीले भने,  ‘१९ वटा वडा कमिटी र २ वटा हाटबजार र ई–रिक्सा कमिटी गठन गरी सकेर हामीहरू टोल कमिटी पनि गठन भएका छन् । बुटवलमा हामीले नेकपाका २ सय ५० टोल कमिटीहरू पनि गठन भइसकेका छन् ।’

सबै कमिटीहरू गठन हुँदा कतै पनि विवाद नभएको उनले बताए । पार्टीको प्रदेश कमिटी गएको मंसिर २८ गते घोषणा भयो । पुस ९ गते जिल्लामा शाखा कमिटी गठन गर्न कार्यदलले निर्देशन दिएसँगै पार्टीका सबै कमिटीहरू निर्माणमा जुटेका थिए ।

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले आफूहरूले पनि सबै वडा कमिटीहरू गठन गरिसकेको बताए । ‘हामीले पनि कुनै पनि विवाद नभई सबै कमिटीहरू गठन गरिसक्यौं । अब टोल कमिटीमा निर्माण केन्द्रित हुने तयारीमा लागेका छौं ।’ उनले थपे, ‘१७ वटा वडा कमिटी मध्ये पूर्व एमालेलाई ११ वटामा अध्यक्ष र पूर्व माओवादीलाई ६ वटामा अध्यक्षको जिम्मेवारीसहित वडा कमिटीहरू गठन गरिएको छ ।

नेकपा रूपन्देहीको प्रस्तावित अध्यक्ष गोपाल भट्टराई र कार्यदल सदस्यमा निर्मल जिसी, शिवराज सुवेदी र विश्वास बराल रहेका छन् । नेकपा सैनामैना नगर कमिटी अध्यक्ष नारायण न्यौपानेले सबै वडा कमिटीहरू गठन भइसकेको बताए ।

उनले भने, ‘११ वटा वडा कमिटीहरू गठन भएर आफूहरू १ सय १० वटा टोल कमिटीहरू निर्माणमा जुटेको छौं । हामीले कमिटी गठन गर्दा कुनै विवाद भएको छैन । सर्वसम्मत रूपमा गठन गरेका छौं ।’

रूपन्देहीमा १६ स्थानीय तह छन् । त्यसमा गएको स्थानीय तह निर्वाचनमा पूर्व एमालेले ७ वटा र पूर्व माओवादीले १ वटा क्षेत्रमा विजयी भएका थिए । त्यस्तै प्रतिनिधि सभाका ५ वटा क्षेत्रमध्ये पूर्व एमालेबाट महासचिव विष्णु पौडेल,  स्थायी कमिटी सदस्य घनश्याम भुसाल, छविलाल विश्वकर्मा विजयी भएका थिए । 

त्यस्तैगरी प्रदेशसभामा ६ जना सांसदहरू निर्वाचित भएका छन् । नेकपा कार्यदलका सदस्य तथा प्रस्तावित अध्यक्ष गोपाल भट्टराईले कुनै विवादरहित रूपमा पार्टीका सबै कमिटीहरू निर्माण भएको बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्