२२ असार २०८३, सोमबार

धर्नामा रहेका नेविसंघका नेता कार्यकर्तामाथि निधि र महतको दुर्व्यवहार

धर्नामा रहेका नेविसंघका नेता कार्यकर्तामाथि निधि र महतको दुर्व्यवहार

काठमाडौँ-नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्ता र पार्टीका नेताहरुबीच झडप भएको छ । नेविसंघको विधानमा रहेको ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले लछारपछार गर्न खोजेपछि हात हालाहालको स्थिति आएको हो ।

झडपमा परी धर्नामा रहेका विद्यार्थी नेता पवन थापा, जीवन सुवेदी, सुल्तान मियाँलाई विमलेन्द्र निधिका सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका विद्यार्थीको समूहले नाराबाजी गरिरहेकै स्थानमा पुगी नेता विमलेन्द्र निधिले हात हालेको निर्वतमान केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले बताए ।

त्यस्तै सह महामन्त्री प्रकाशशरण महतले विद्यार्थी नेता निरन्जन थापालाई बोलाएर कार्बाही गर्ने धम्की दिएको निवर्तमान केन्द्रीय सदस्य नमराज त्रिपाठीले जानकारी दिए । झडपको विषयमा डा. महतसँग सम्पर्क गरेर गर्दा हात हालाहालको स्थिति नभएको र विधान अनुसार नै पार्टी चल्ने कुरामा ढुक्क हुन आग्रह गरे । उनले कसैलाई पनि हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले दुईवर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केही दिनअघि राजिनामा दिएका थिए । महरको राजिनामासँगै नेविसंघमा तदर्थ समिति आउने निश्चित छ ।

नेविसंघमा ३२ वर्षे उमेरहद लागू हुने भनी पार्टी केन्द्रिय समितिले निर्णय गरेपनि तदर्थ समिति ३२ माथिको आउनसक्ने चर्चासँगै नेविसंघमा तीव्र ध्रुवीकरण बढेको छ । केही दिनदेखि ३२ वर्षमुनीको तदर्थ समिति ल्याउनुपर्ने मागसहित नेविसंघका नेता कार्यकर्ता पार्टी केन्द्रिय कार्यालयमा धर्नामा रहेका थिए ।

आफ्नो मागबारे नेतालाई राम्रो जानकारी होस् भनी नेविसंघका नेता कार्यकर्ताले उपसभापति विमलेन्द्र निधिलाई घेरेको भिडियोमा स्पष्ट देखिन्छ । उनको सुरक्षाकर्मीले भिडलाई पन्छाउदै निधिलाई पार्टी कार्यालयको मुलगेटमा पुर्याउछन् । त्यसपछि सुरक्षाकर्मीको घेरामा बसेर उपसभापति निधि र सहमहामन्त्री प्रकाशरण महत नेविसंघ कार्यकर्तामाथि प्रतिवादमा लागेको भिडियोमा देखिन्छ ।

विधानअनुरुप पार्टी चल्नुपर्छ भन्ने माग राख्दै आएका विद्यार्थीहरुमाथि नेता नै जाईलाग्नु निन्दनीय भएको र विधानअनुसार पार्टी नचलेसम्म धर्ना जारी रहने निवर्तमान केन्द्रीय सदस्य शुसिल भट्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्