काठमाडौं – प्रतिनिधि सभाको शुक्रवारको बैठकमा शून्य समयको कार्यक्रम सकिएपछि सभामुख कृष्णबहादुर महराले खानेपानी मन्त्रीसँग मौखिक प्रश्नोत्तर कार्यक्रम शुरू गर्न लागेका थिए ।
‘खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रश्नको मन्त्रीले उत्तर दिइसकेपछि प्रश्नकर्ता बाहेक पाँचजना सदस्यले पूरक प्रश्न सोध्न सुक्नुहुनेछ,’ सभामुख महराले भने ।
महराले यति भन्दै गर्दा नेकपा सांसद विरोध खतिवडा उठे ।
सभामुखले सोधे– के छ माननीय सदस्य ?
खतिवडाको पहिचान नियमापत्ति गर्ने सांसदको रूपमा छ ।
कुनै विषयमा नियमापत्ति हो कि भनेर सभामुख महराले प्रश्न गर्दै गर्दा खतिवडाले जवाफ फर्काए– ‘नियमापत्ति भन्ने आँट नगरेको कारण त्यही हो, यो घनघोर नियमापत्ति अन्तर्गत हो !’
‘मेलम्चीको विषय गम्भीर भएकाले अलिकति छलफल गर्ने अधिकार दिइयोस् भन्नका लागि ।’ खतिवडाले थपे ।
पाँच जनाबाटै प्रश्न सोध्न सकिने सभामुखले प्रष्ट्याए ।
खतिवडाले सभामुखले विवेक प्रयोग गरेर प्रश्न गर्ने सांसदको संख्या थप गर्न माग गरे ।
सत्तारुढ सांसदको ‘घनघोर नियमापत्ति’ लागेन । पाँचजना मात्र सांसदले प्रश्न सोधे ।