
सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले उदाहरणीय कार्य सुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लोकल मदिरा नियन्त्रण गर्दा बरामद भएका भाँडाहरु गमलामा रुपान्तरण गरेको हो ।
‘हामीले बरामद गरिएका भाँडाहरु जमिनमा गाड्नुपर्ने प्रचलन छ,' जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक प्रदिपबहादुर क्षेत्रीले भने, ‘ती भाँडाहरुलाई बिचमा काटेर गमला बनाउने र त्यसमा बिरुवा रोप्ने गरेका छौं ।’
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ६१ ओटा मदिरा बनाउने भाँडाहरु बरामद गरेको जानकारी दिए । ‘जिल्ला भरि हामीले ६१ ओटा भाँडा नियन्त्रणमा लिएका थियौं । ती मध्ये भ्यालीमा मात्रै २१ ओटा भाँडा नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘हामी अहिले ती एक्काईस भाँडालाई गमलामा रुपान्तरण गर्दैछौं, गमलालाई रंगरोगन गरेर आकर्षक बनाइरहेका छौं ।’
जिप्रकामा प्रतिक्षालय निर्माण जिल्ला प्रहरी कार्यालय हातामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्रले प्रतिक्षालय निर्माण गरिएको छ ।
उक्त प्रतिक्षालयमा एक टिभी राखेर सुर्खेत प्रहरीका कामहरु, विभिन्न जनचेतनामुलक जानकारीहरु बजाउन सुरु गरिएको छ । सेवा केन्द्रका अध्यक्ष नगेन्द्र उपाध्यायले निर्माण व्यवसायी संघबाट टिभी तथा काठ व्यवसायीबाट काठ उठाएर प्रतिक्षालय निर्माण गरिएको बताए ।
उनका अनुसार अन्य व्यापरीबाट सीमेन्ट लगायका सामाग्रीहरु जुटाई निर्माण कार्य सम्पन्न भएको हो । लागत कति लाग्यो भन्ने निर्क्योल गरिएको छैन ।
जिप्रकामा केरा रोपियो
प्रहरी कार्यालय परिसरभरि केरा रोपिएको छ । फिल्डमा दुबो रोपिएको छ भने बाँकी जमिनमा तरकारी खेती गरिरहेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए । उनले आफूहरुले प्रहरी कार्यालयको जमिनलाई बाँझो नराख्ने गरी यी कार्यहरु गरिएको बताए ।
यसैबीच, समुदाय प्रहरी साझोदारी कार्यक्रम अन्तर्गत शुक्रवार प्रतिक्षा मन्टेश्वरीका विद्यार्थीलाई जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त रजौरेले प्रशिक्षण दिएका छन् । उनले सुरक्षा भनेको के हो ? कसरी बच्ने, आधारभूत सुरक्षाबारे, कस्तो छुवाई राम्रो कस्तो नराम्रो, गोप्य कुरा, सडक सुरक्षा र डायल १०० बारे प्रशिक्षण दिएका हुन् । ‘हामीले ३ थरी प्रशिक्षण अभियान चलाउने भएका छौं,’ उनले भने, ‘१ कक्षा देखि ४ सम्म, ४ देखि ८ सम्म, ८ कक्षादेखि १२ सम्म तथा महिला समूह, नागरिक समूह लगायतलाई हामी प्रशिक्षण दिने डकुमेन्ट दायर गरेका छौं ।’