
काठमाडौं — संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पुलवामा आक्रमणको निन्दा गर्दै यसलाई जघन्य र लाछी अपराध भएको बताएको छ । उसले मसूद अजहरको आतंकवादी संगठन जैश ए मोहम्मदको उल्लेख गर्दै यस्ता आक्रमणका दोषी मानिसलाई न्यायको कठघरामा उभ्याइनुपर्ने बताएको हो ।
सुरक्षा परिषद्को यो टिप्पणी महत्त्वपूर्ण छ किनकि ऊ कश्मीरलाई विवादित क्षेत्र मान्छ र यसअघि उसले कश्मीरमा भएका आतंकवादी आक्रमणमा दखल दिएको थिएन ।
यो महत्त्वपूर्ण किन पनि छ भने भारतले मसूदलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषित गराउने अनेकौं कोशिश गरेको थियो तर चीनले प्रत्येकपटक भिटो लगायो । चीनबाहेक सुरक्षा परिषद्का अन्य कुनै पनि सदस्यले यसमा कुनै आपत्ति उठाएका थिएनन् ।
सुरक्षा परिषद्को टिप्पणीलाई भारतको कूटनीतिक जीतका रूपमा लिएको छ । उता पाकिस्तानले पनि यसलाई आफ्नो जीत नै भनिरहेको छ । भारतले भरमग्दूर कोशिश गरेको भए पनि सुरक्षा परिषद्ले पुलवामा आक्रमणको सन्दर्भमा पाकिस्तानको नाम नलिएको उसको जिकिर छ ।
तर पुलवामा आक्रमणपछि पाकिस्तानमाथि अन्तर्राष्ट्रिय दबाब छ त भन्ने प्रश्न उठेको छ ।
यस विषयमा बीबीसीका संवाददाता दिलनवाज पाशाले इस्लामाबादमा रहेको इन्स्टिच्युट अफ साइन्स यान्ड टेक्नोलोजीमा इन्टरनेसनल पोलिसीका प्राध्यापक तथा दक्षिण एसियामा सुरक्षा मामिला विशेषज्ञ रिफात हुसैनसँग कुराकानी गरे ।
प्राध्यापक हुसैनले पुलवामा आक्रमणलाई पाकिस्तान आफैंले कडा निन्दा गरेको बताए ।
उनले भने, ‘पाकिस्तानलाई अन्तर्राष्ट्रिय स्तरमा अलगथलग गरिएको भनी भारतले गरेको दाबी सही छैन । भखैरै साउदी अरबका युवराज मोहम्मद बिन सलमान पाकिस्तान आए । मार्च २२ मा मलेसियाका प्रधानमन्त्री महाथिर
मोहम्मद पनि पाकिस्तान आउन लागेका छन् । अनि टर्कीका राष्ट्रपति रेचेप तैयब अर्दोआन पनि पाकिस्तान भ्रमण गर्दैछन् ।’
‘पाकिस्तान सरकार डराएको छ त भन्ने प्रश्नमा पाकिस्तान सरकारले प्रस्ट रूपमा आफूले युद्ध नचाहेको तर आफूमाथि युद्ध थोपरिएमा बेस्सरी जवाफ फर्काउने बताएको छ । डराएको मुलुकले यस्तो भन्छ जस्तो मलाई लाग्दैन ।’
भारतमा चुनाव आइरहेकोमा पुलवामा ठूलो मुद्दाका रूपमा आएको छ । मोदी सरकारले यस विषयमा ठोस कारवाही गर्न सक्छ त ?
यसको उत्तर दिँदै प्राध्यापक रिफात भन्छन्, ‘चुनाव नजिक आएको बेलामा मोदी सरकारको विकल्प एकदमै सीमित छ । पाकिस्तान पनि आणविक शक्तिसम्पन्न मुलुक भएको भारतलाई थाहा छ । अनि युद्ध शुरू गर्न सजिलो भए पनि त्यसलाई समहाल्न गाह्रो हुने पनि उसलाई थाहा छ । अनि सानो भूललाई पनि अन्तर्राष्ट्रिय स्तरमा आक्रामकताका रूपमा हेर्न सकिने हेक्का पनि भारतलाई छ ।’
पुलवामा आक्रमणपछि भारत अधीनस्थ कश्मीरको तनावपूर्ण स्थितिका बारेमा प्राध्यापक रिफातले आगामी केही महिनामा भारत र पाकिस्तानबीच असहज स्थिति बन्ने तर बिस्तारै सामान्य हुँदै जाने आशा गर्न सकिने बताए ।
अहिले चाहिँ भारत र पाकिस्तान दुवैतिर शंकासहितको प्रश्न सोधिँदैछ – दुई देशबीच युद्ध होला त ?
त्यसको जवाफमा प्राध्यापक हुसैन भन्छन्, ‘युद्ध हुन्छ जस्तो लाग्दैन किनकि युद्धले ठूलै विनाश निम्त्याउँछ । दुवै मुलुकसँग आणविक हतियार छ । युद्ध शुरू भएमा निकै ठूलो खतरा आइलाग्नेछ । दुई देशबीच सबै मुद्दामा कुराकानीको बाटो खुलाउनुपर्छ ।’
बीबीसी हिन्दीबाट