
काठमाडौं– देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यकाभित्र पनि हिमपात भएको छ । बुधबारबाट नै काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परेको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम प्रभावित बनाएको जनाएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण बुधबार देशैभरको मौसम पूर्ण रुपमा बदली भएको थियो । देशका अधिकांस भेगमा हिजो दिउँसोदेखि पानी परेको थियो । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात पनि भएको छ । देशका मध्य, पश्चिम र पुर्वी क्षेत्रको मौसम बिहीबार बेलुकीसम्मै बदली रही अधिकांश स्थानमा पानी पर्ने महाशाखाले अनुमान गरेको छ ।
रुकुम (पूर्व)को हिमाली तथा उच्च लेकाली क्षेत्रमा मङ्गलबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको हो ।
जिल्लाको हिमाली क्षेत्रमा यस वर्ष पटकपटक हिमपात भए पनि उच्च लेकाली क्षेत्र तथा अन्य ठाउँमा भने पाचौँ पटक हिमपात भएको हो । हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । गर्मी मौसम शुरु हुने यो समयमा हिमपात नरोकिँदा पशुचौपाया र मानिस चिसोमा कठ्याङ्ग्रिएर बसेका छन् ।
केही दिनयता मौसम पनि नखुलेकाले चिसो बढिरहेको थियो । मङ्गलबारदेखि जिल्लामा हावाहुरी, वर्षासँगै हिमपात हुँदा अत्यधिक चिसोको महसुस गरिएको छ । जिल्लाको तल्लो क्षेत्रमा सामान्य हिमपात भए पनि पुथा उत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङलगायत क्षेत्रमा बाक्लो हिउँ परेको छ ।