२६ जेठ २०८३, मंगलबार
अन्तिम बिदाइ

पोखराको रामघाटमा अधिकारीको अन्त्येष्टि गरिने, प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि कार्यक्रम

फागुन १७, २०७५
पोखराको रामघाटमा अधिकारीको अन्त्येष्टि गरिने, प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि कार्यक्रम

पोखरा – हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि शुक्रवार पोखरामा हुँदैछ ।

ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा गर्ने तयारी भइरहेको छ ।

अधिकारीको अन्त्येष्टि पोखरामै हुने भएपछि उनका बुवाआमा, छोरा र बहिनी बिहीवार नै पोखरा आएका छन् । अधिकारीको शव अन्येष्टि अघि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलिका लागि राखिने भएको छ । 

श्रद्धाञ्जलिका लागि अधिकारीको शव शुक्रबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले बताए ।

मन्त्री अधिकारीको शव काठमाडौंमा ११ बजेसम्म राखेर त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा ल्याइने बस्नेतले जानकारी दिए ।

श्रद्धाञ्जलिका लागि शव राखिने स्थल प्रदर्शनी केन्द्रमा नेता, कार्यकर्ता र सर्वसाधारण श्रद्धाञ्जलि व्यक्त गर्न र सहज वातावरण बनाउन आवश्यक तयारी गरिएको नेकपा संयन्त्र सदस्य दामोदर बैरागीले जानकारी दिए । उनले श्रद्धाञ्जलिका लागि शव राखिने स्थल, शवयात्राको लागि सवारी र भीड कम हुने गरी आवश्यक तयारी पूरा भएको बताए ।

श्रद्धाञ्जलिपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट शुरू भएको शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिने छ । अधिकारीको राजकीय सम्मान साथ अन्त्येष्टि गर्ने नेपाल सरकारले यसअघि नै निर्णय गरिसकेको छ । 

रामघाटमा राजकीय सम्मानका लागि नेपाली सेनाले सलामी दिने छ । अन्त्येष्टिमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, वामदेव गौतम लगायतका नेताहरू पोखरा आउने छन् ।

नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्