
काठमाडौं – पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मूद अजहरमाथि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्रतिबन्ध लगाउने प्रस्तावमा मार्च १३ सम्ममा फैसला लिनुपर्नेछ ।
तर सुरक्षा परिषद्को एक स्थायी सदस्य चीनले प्रस्तावलाई रोकिरहेकोमा पुलवामा आक्रमणपछि चाहिँ चीनको मन परिवर्तन भएको देखिन्छ । तर मसूदलाई कारवाही गर्दा जैशले चीन पाकिस्तान इकोनोमिक कोरिडोरलाई तारो बनाउनसक्ने डर चीनले लिएको देखिन्छ ।
मसूदमाथि प्रतिबन्धको नयाँ प्रस्तावमा समर्थन गर्ने मूड बनाइरहेको चीनले पाकिस्तानसँग सुरक्षाको ग्यारेन्टी लिन खोजिरहेको छ ।
सीपीईसी पाकिस्तान अधीनस्थ कश्मीर र गिल्गिट बाल्टिस्तान हुँदै जान्छ र बालाकोट भएको मानशेरा जिल्लालाई पनि छुन्छ । उक्त जिल्लामा अनेकौं आतंकवादी प्रशिक्षण शिविर छन् । पुलवामा आत्मघाती आक्रमणपछि भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेको थियो ।
चीनले हालै सीपीईसीका लागि बालाकोटनजिक टन्नै जमीन अधिग्रहण गरेको छ ।
जैश प्रमुख मसूद अजहरलाई वैश्विक आतंकवादी घोषित गर्नका लागि फ्रान्सले सुरक्षा परिषद्समक्ष प्रस्ताव राखेको छ र त्यसमा अन्य स्थायी सदस्य अमेरिका, बेलायत र रुसको समर्थन छ ।
एजेन्सी