जनकपुरधाम - स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय सहसंयोजक कैलाश महतोले आफूहरूको माग यथावत् रहेको बताएका छन् । सरकारसँग गरिएको ११ सूत्रीय सम्झौता रणनीति तहत नै गरिएको महतोले दावी गरेका छन् । ‘हामीले अब आफ्नो मागलाई झन् सहज तरीकाले जनता समक्ष लाग्न सक्छौं,’ महतोले लोकान्तरसँग भने, ‘हाम्रो मागमा सरकारले जनमत संग्रह गराउने स्वीकार गरिसकेकाले पनि हाम्रो जीत भइसकेको छ ।’
‘विगतमा पनि आफूहरुले नेपालको संविधानलाई मानेर नै सबै कार्यक्रम गर्दै आएका थियौ,’ उनले भने, ‘अहिले पनि मान्दै आएका छौं ।’ नेपालको संविधान अन्तर्गत रहेका मौलिक हकलाई जति हामी स्वराजीले उपयोग गरेका छौं, त्यति सायदै कसैले गरेका होलान् भन्दै महतोले भने, ‘हामीले कहिल्यै पनि विखण्डन भनेकै होईन । नेपाली उपनिवेशबाट पो मुक्ति चाहिएको छ, फिरंगी नेपाली शासनले हाम्रो मधेशमा उपनिवेश कायम गरेकाले हामीले आजादीको माग गरेका हौँ,' उनले भने ।
नेपालको लोकतान्त्रिक शासन व्यस्था र विधिलाई नै मान्दै जनमत संग्रहमार्फत मधेश आजाद हुने रणनीति तथा कार्यनीति अनुसार गठबन्धनका संयोजक डा. सीके राउतले नेपाल सरकारसँग सम्झौता गरेको उनले दावी गरे ।
‘राउत जेलमा गए पछि कार्यकर्ताहरुमा भय त्रास भएकाले कार्यनीति अनुसार नै राउतले सरकारसँग सम्झौता गरेका हुन्,' सह संयोजक महतोले भने, ‘अब हामी जनमत संग्रहमार्फत मधेश देशलाई नेपाली फिरंगी शासकबाट स्वतन्त्रता दिलाउछौँ । सम्झौता अनुसार अब गठबन्धनका कार्यकर्ताहरु खुलेर स्वतन्त्रताको पक्षमा प्रचार प्रसार गर्न पाउने भएकोले पनि हामीले जीतको खुशियालीमा मधेशैभरि दीपावली मनाएका छौं ।'
राउतले आगामी दिनमा यसै गठबन्धनलाई पार्टी बनाउन पनि सक्ने संकेत दिए । तर, त्यसबारे अहिले कुनै ठोस निर्णय भने गठबन्धनमा नभएको महतोले बताए ।
सम्झौताको दोस्रो बुँदामा नै जनअभिमत मार्फत जनमत संग्रह गर्न तयार भएको दावी उनले गरेका छन् । जनमतसंग्रह भन्ने शब्द उल्लेख नभएपनि त्यसको अर्थ काठमाडौंका बुद्धिजीवीदेखि मानब अधिकारकर्मीले समेत बुझीसकेको उनले तर्क गरे ।