काठमाडौं, १ चैत — मंगलवार आमिर खान ५२ वर्ष पुगेका छन् । बलिउडमा मिस्टर पर्फेक्सनिस्ट नामबाट परिचित आमिरले सन् २०१६ मो अन्त्यतिर आएको दंगल फिल्मबाट सफलताको नयाँ उँचाइ हासिल गरेका थिए ।

त्यस्तै उनले टेलिभिजनको पर्दामा नयाँ सोचका साथ हिँड्नुपर्ने कथा पनि चलाए ।
दंगलमा आमिरले पहलमान महावीर फोगटका छोरीहरूको संघर्षको कथा प्रस्तुत गरे भने एक निजी टिभी च्यानलमा उनले छोरा जस्तै गरी छोरीलाई पनि सफलता दिलाउन प्रयत्न गर्नुपर्ने सोचलाई समर्थन दिए ।
उनको सुपरहिट फिल्म थ्री इडियट्सको एक संवाद उनीमाथि फिट लाग्छ : ‘सक्षम बन, सफलता तिम्रो पछाडि दौडिन्छ ।’
आमिर आफैं यति सक्षम छन् कि उनले जे गरे पनि त्यो विशेष बन्न पुग्छ । तर सक्षमता देखाउन पनि प्रमोसन चाहिँ जरूरी हुन्छ भन्ने आमिरलाई थाहा छ ।
सन् २०१४ मा पीके फिल्ममार्फत धार्मिक अन्धविश्वासमाथि प्रहार गरेका आमिर त्यसपछि निष्क्रिय देखिन्थे । तर हरियाणाका साना शहरहरूमा टाकनटुकन हरियाणवी बोल्दै गरेका भेटिए उनी । दंगलका लागि तयारी पो गर्दै रहेछन् ।
खासमा आमिर खानको सक्रियतामा नै उनको सफलताको रहस्य लुकेको छ । यही सक्रियतालाई बलिउडमा प्रचारप्रसारको फन्डा मानिन्छ । यसमा आमिर पर्फेक्ट छन् ।
फिल्म प्रमोसनका दाउपेचमा आमिरलाई गहन विश्वास छ र यसका लागि उनी कुनै पनि हदसम्म पुग्न सक्छन् ।
हर फिल्मका लागि उनी फरक फरक रणनीति अपनाउँछन् । ती रणनीतिहरू नवीन र प्रभावकारी हुन्छन् ।
पीके फिल्मको प्रमोसनका लागि आमिरले भोजपुरी सिकेका थिए । धूम ३ का लागि उनी गायब भएका थिए अनि उनले निर्माण गरेको पीपली लाइभका लागि महंगीबाट समस्यामा परेका जनतासामु महंगाई डायन खात जात भन्ने गीत बजाएका थिए । त्यस्तै गजनी रिलिज हुनुअघि उनले अचम्मको हेयरस्टाइल बनाए र छुरा लिएर बाटोमा फ्यानहरूको कपाल काटे । अनि मंगल पाण्डे फिल्ममा उनले लामालामा जुंगा पाले ।
वरिष्ठ फिल्म समीक्षक अजय ब्रह्मात्मज भन्छन्, ‘फिल्म बनाउँदा आमिरको ध्यान मेकिङमा त हुन्छ नै, त्यसभन्दा बढी ध्यान चाहिँ उनी फिल्मको प्रमोसनमा दिन्छन् । आमिरले प्रमोसनका लागि एउटा विशेष टोली बनाएका छन् । त्यसमा मार्केटिङ, मिडिया र रणनीतिज्ञको सहभागिता हुन्छ । आमिरको रणनीतिक सोच नै उनको फिल्मलाई विशेष बनाउन पर्याप्त छन् ।’
बीबीसी हिन्दीबाट