
बुटवल – रूपन्देहीको देवदहमा २०७३ पुस ४ गते तत्कालीन युवा संघ नेपाल रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो ।
२०७४ पुस २१ गते देवदहमै व्यवसायी तथा एमाले नेता निलकण्ठ पौडेलका छोरा बलु पौडेलको हत्या भयो । उनीहरू दुवैको हत्या कुख्यात अपराधी मनोज पुन र उनको समूहले गरेको प्रहरी पत्ता लगायो ।
पुन र उनका समूहलाई खोज्दै जाँदा प्रहरीको इन्काउन्टरमा परी अपराधी मनोज पुन र उनका सहयोगी सोम आले पनि देवदहको भवानीपुरमा मारिए । अपराधीहरू प्रहरीको इन्काउन्टरमा मारिएपछि रूपन्देही र देवदहबासी अब शान्त हुन्छ भन्ने महशुस गरेका थिए ।
फेरि आइतवार राति देवदहमै अज्ञात समूहको आक्रमणमा परी देवदह–५ अनिस पुरीको मृत्यु भएको छ । शान्तिको महसुस गर्न थालेका देवदहवासी फेरि झस्किएका छन् । सुरक्षा निकायका प्रमुख र गृहमन्त्री रामबहादुर थापा जिल्लामै रहेको बेला देवदहमा युवाको हत्या भएपछि रूपन्देहीमा सुरक्षा चुनौती पनि थपिएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले पुरीको हत्या संलग्न भएको आशंकामा ५ जनालाई पक्राउ गरिएको बताए । त्यहाँको प्रकृति हेर्दा केटाहरुबीच विवाद हुँदा झगडा भएको देखिन्छ । ‘झगडाले उग्र रुप लिएपछि उनलाई ढुंगा र लाठीले हानेको देखिन्छ । हामी अनुसन्धानको क्रममा छौं,’ मल्लले भने ।
मृतक पुरीको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि ल्याएको छ । देवदह बुटवलबाट झण्डै ३० किलोमिटर पूर्व पर्छ । त्यहाँ ठूलो शहरको रूपमा स्थापित भएको छ । पुरी तरुण दलको कार्यकर्ता रहेको बताइएको छ ।
देवदहका स्थानीय तथा नेकपा नेता सिद्धिचरण भट्टराईले देवदहमा एकअर्कोलाई अस्वीकार गर्ने प्रवत्ति बढ्दै जाँदा अपराधका घटना बढेको बताए । भट्टराईले भने, ‘त्यहाँ धेरै आर्थिक गतिविधि हुन्छ । युवाहरू कसरी छिटो धनी बन्ने भन्ने प्रवृत्ति बढेको छ । जसले गर्दा आपराधिक घटनाहरू पनि बढेका छन् ।’
यस्तो छ पुरीको हत्याको कारण
आइतवार साँझ ७ः४० बजे देवदह–९ बुद्धनगरमा पुरी सामूहिक आक्रमणमा परेका थिए । स्थानीय युवाको समूहले रड र ढुंगाले हानेर हत्या गरेको खुल्दै गएको छ । अनिसलाई एक परिचित युवाले फोन गरेर बोलाएका कारण उनी बुद्ध नगरमा पुगेको र त्यहाँ पुगेका पुरीमाथि १० र १२ जनाको समूले आक्रमण गरेको बताइएको छ ।
आक्रमणबाट बच्न भाग्दै गर्दा २ सय मिटर पर पुगेका पूरी पूर्वपश्चिम राजमार्गको किनारमा रहेको पेट्रोल पम्पमा आइपुगेपछि लडेका थिए । पेट्रोल पम्पमा लडेका उनलाई स्थानीयले उद्दार गरी देवदह मेडिकल कलेज पुर्याएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
देवदहमा अहिले मेला चलिरहेको छ । केही दिन अगाडि व्यापार मेलाको विषयमा देवदहको खैरेनी र बुद्ध नगरका युवाबीच विवाद हुँदै आएको बताएको छ । मेलास्थलमा सवारीसाधन पार्किङका विषयमा स्थानीय बुद्धनगर र खैरेनीका युवाबीच विवाद उत्पन्न भई केही दिनअघिदेखि नै सम्भावित झडपको अवस्था देखिएको थियो ।
स्थानीयले बताए अनुसार आइतवार दिउँसो समेत मेला स्थलभित्रैै २ समूहबीच झडपको अवस्था आएको थियो । तर आयोजक र सुरक्षा निकायका सक्रियताका कारण झडप हुन पाएन ।
अनिसको मृत्युको खबर पाउनासाथ बेहोस भएका बुबा लोमस पुरी र आमा शोभाको अहिले बुटवल स्थिति गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ । पुरी परिवारका एक्ला छोरा उनी व्यवसायी समेत रहेको बताइएको छ ।