
विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिमण्डल पुनर्गठनको छलफल शुरू भएको बताएका छन् ।
मंगलवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले पूर्वाधार निर्माणको क्षेत्रमा सरकारले धेरै काम गरिसकेको र अझै प्रभावकारी भूमिका खेल्न सरकार पुनर्गठनको प्रस्ताव प्रधानमन्त्रीले आफूसँग राखेको समेत बताए ।
प्रधानमन्त्रीले आफ्नो चाहना र मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठनको कुरा भएको उनले सुनाए । यद्यपि अहिले हतारमा मन्त्रीमण्डल पुनर्गठन नहुने भएपनि प्रधानमन्त्रीलाई नै आफैं गर्नु भनेको प्रचण्डको भनाइ छ ।
सरकारले राउतसँग गरेको सम्झौता सकारात्मक भएको भन्दै सम्झौतापछि आएको टिप्पणी कार्यकर्तालाई मत्थर पार्ने तर्फ केन्द्रीत भएको बताए ।
उनले सीके राउतसँग भएको सम्झौताको बारेमा पार्टी भित्रका नेताहरूबाट आएको प्रतिक्रियालाई बढी बोलेको बताएका छन् । प्रचण्डले पार्टी भित्रका केही नेताले बढी बोलेको भन्दै यदि समस्या भए पार्टीभित्रै बसेर छलफल गर्न आग्रह गरे । पार्टीभित्र छलफल गर्नुपर्ने कुरा बाहिर बोलेर अर्थ नहुने भन्दै उनले यदि समस्याको विषयमा छलफलमा आएर टुङ्ग्याउन भनेका हुन् ।
विगतमा उनले गरेका राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिबारे आफूहरू जानकार रहेको र अबका दिनमा राष्ट्रिय राजनीतिको मूलधारमा आउने गरी सहमति भइसकेको दाबी गरे । प्रचण्डले सीके राउतले तत्कालका लागि कार्यकर्ता फकाउन केही गतिविधि गरेको भएपनि पहल सकारात्मक भएको बताए ।