
ललितपुर, १ चैत –सभामुख ओनसरी घर्तीले खोकनास्थित रुद्रायणी माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको आज उद्घाटन गरेकी छिन् ।
फ्रान्सको इपिएस क्लबको सहयोग र स्थानीय सहरी वातावरण व्यवस्थापन समाजको व्यवस्थापनमा दुई करोड ६० लाख रुपैयाँको लागतमा निर्मित उक्त भवन मंगलवार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
नयाँ भवनमा विज्ञान प्रयोगशाला समेत छ । सभामुख घर्तीले अभिभावकको चाहना र समयको माग अनुसार वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सामुदायिक विद्यालय अग्रसर हुनुपर्ने बताइन ।
एक सय १७ वर्ष पुरानो सो विद्यालयमा हाल २ सय ५० विद्यार्थी छन् । गत वर्षको प्रवेशिका परीक्षामा सो विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आगामी दिनमा शिक्षाको गुणस्तर खस्कन नदिने दृढता प्रधानाध्यापक बाबुराम थापाले व्यक्त गरे।