काठमाडौं, २ चैत -कर क्षेत्रका विज्ञहरूले एनसेलको स्वामित्व किनबेचमा विक्रेता स्विडिस कम्पनी टेलियासोनेराले (हाल टेलिया कम्पनी) ले नै पुँजीगत लाभकर तिर्नुपर्ने प्रस्ट पारेका छन् । टेलियासँग लाभकर असुल्ने सरकारको निर्णय सही भएको भन्दै उनीहरूले त्यसैअनुसार टेलियासँग असुली गर्नुपर्ने प्रस्ट पारेका हुन्, आजको राजधानीमा खबर छ ।

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समिति र अर्थ समितिले सरकारलाई विक्रेतासँगै लाभकर असुल गर्न दिएको निर्देशनअनुसार मन्त्रिपरिषद् बैठकले टेलिया सोनेरासँग लाभकर असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । नेपालको कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक कारोबार गरेको एनसेलको स्वामित्व हस्तान्तरणमा विक्रेता टेलियाले हालसम्म पनि कर विवरण नेपाल सरकारलाई बुझाएको छैन । केही सरकारी अधिकारीसँगको मिलेमतोमा उसले लाभकर नतिरी नेपाल छाडेको थियो । नेपालमा सञ्चालन गरे पनि उसले हल्यान्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचामार्फत नेपालको स्वामित्व राखेको थियो । सोही आधारमा टेलियाले सेयर कारोबारमा पुँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने अडान राख्दै आएको छ । उसको सो अडान पूर्णतः गलत रहेको पूर्वप्रशासकको भनाइ छ । ‘हामीले अन्तर्राष्ट्रिय मुद्रा कोषसमेतको सहयोग लिएर आयकर ऐन बनाएका हौं । यो अन्य मुलुकका कर कानुनभन्दा आधुनिक छ । टेलियाले जस्तोसुकै संरचनामार्फत लगानी गरेको भए पनि बेचेको त यहीँ भएको सम्पत्ति हो । त्यसको मूल्य पनि यहीँ कारोबार गरेर बढाएको हो ।
त्यसैले, लाभकर तिर्नैपर्छ,’ नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइराला भन्छन् । कारोबारमा नाफा नभएको भए टेलियाले सार्वजनिक रूपमा किन नदेखाएको भन्दै कोइरालाले आपत्तिसमेत जनाए । ‘यस्तो गर्न पाइँदैन, उसले कर तिर्नैपर्छ,’ कोइरालाको भनाइ छ । पूर्वअर्थ सचिव विद्याधर मल्लिक पनि पुँजीगत लाभकर नतिर्ने टेलियाको दाबीबाट आश्चर्यचकित भएको बताउँछन् ।
‘नेपालमा कर तिर्नुपर्दैन भन्ने टेलियाको अडानबाट म अचम्मित छु,’ तत्कालीन कर विभागका महानिर्देशकसमेत रहेका पूर्वअर्थ सचिव मल्लिक भन्छन्, ‘टेलियाले यस्तो भन्नुहँुदैनथ्यो । किनभने, उसले नेपालमा रहेको सम्पत्ति नै कारोबार गरेको हो र संसारभर लाभकर लाग्ने अवस्थामा बिक्रीकर्ताले नै तिर्ने हो ।’ टेलियाले लाभकर तिर्न अस्वीकार गरेपछि उसकै देशमा समेत आलोचित बनेको छ ।