काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो आइरहँदा उनका सत्ता सारथीका साथै राजनीतिक रूपमा नजिक भएर काम गरिरहेको ‘किचन क्याबिनेट’को भूमिकामाथि समेत गम्भीर प्रश्न उठेको छ ।
आजको राजधानी दैनिक लेख्छ–ओलीलाई उनका किचेन क्याबिनेटमै रहेका व्यक्तिहरूबाट अपेक्षाअनुसार सहयोग र महत्वपूर्ण सुझाव प्राप्त हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीको पहिलो घेरामा रहेर सत्ता सारथीका रूपमा सबैभन्दा नजिक भएर काम गर्ने अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, प्रमुख सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनालीलगायतको भूमिकामा समेत प्रश्न खडा भएको छ । प्रधानमन्त्रीको निकट रहेर काम गरेका यी मन्त्रीहरूले आफ्नै मन्त्रालयमा पनि कार्यसम्पादन सशक्त र प्रभावकारी रूपमा गर्न सकेका छैनन् । यस्तै, प्रधानमन्त्रीको किचेन क्याबिनेटमा रहेर काम गर्नेहरूमा पार्टी महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, महेश बस्नेत, शंकर पोख्रेल, निरु पाल छन् ।