
बर्दिबास– महोत्तरी खयरमाराका रामकृष्ण थापाकी छोरी आइतबादेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदैछिन् । वर्षभरि स्कुलमा पढेको भरमा परीक्षामा राम्रो लेख्नेमा उनको छोरी ढुक्क हुन सकेकी छैनन् ।
थापालाई पनि छोरीले परीक्षामा राम्रो अंक ल्याउने विश्वास छैन । त्यसैले उनले छोरीका लागि आठै विषयका गाइड, गेसपेपर किनिदिएका छन् । थापाले भने, ‘सामुदायिक विद्यालयमा पढाइ हुँदैन । शिक्षकहरू दलको झन्डा बोकेर हिँड्छन् । गाइड नपढाई परीक्षामा सहभागी गराउनै सकिन्न ।’
यस्तै धनुषा मिथिला नगरपालिका—११ तुलसीका सरिता तामाङले छोराका लागि एक हजार दुई सय ७० रुपैयाँमा गेसपेपर र गाइड खरिद गरिदिइन् । थापा र तामाङ मात्र हैन, एसईई दिने धेरै विद्यार्थीले अभिभावकलाई गाइड र गेसपेपर किन्न लगाएका छन् । यतिबेला बजारमा गेसपेपर र गाइडको माग उच्च छ । पुस्तक पसलेलाई बिक्री गर्न भ्याइनभ्याइ छ ।
अभिषेक पुस्तक पसल बर्दिबासकी कुसुम सेन ठकुरीले भनिन्, ‘मंसिरदेखि नै बजारमा गेसपेपर गाइड आउँछ । अधिकांशले परीक्षा नजिकै आएपछि मात्रै किन्छन् ।’ विद्यालय व्यवस्थापन समितिको लापरबाहीले सामुदायिक विद्यालयको शैक्षिक वातावरण खस्किएको गौशाला रजखोरका पूर्व्शिक्षक वासुदेव महतो बताउँछन् ।
‘यहाँ राम्राभन्दा हाम्रा व्यक्तिलाई शिक्षक नियुक्त गरिन्छ,’ उनले भने, ‘योग्यले पढाउन पाउँदैनन् । अयोग्यले पढाउँदा विद्यार्थी फेल हुन्छन् ।’ स्कुलमा राम्रो पढाइ नभएकाले विद्यार्थी गाइडको भर पर्नु बाध्य रहेको उनले बताए । स्कुलमा राम्रोसँग पढाइ नहुने र विद्यार्थीमा पठन संस्कृति नभएकाले शैक्षिक स्तर खस्कँदै गएको बर्दिबासका शिक्षक हेमसागर वाग्ले बताउँछन् ।
उनले भने, ‘शिक्षकले राम्ररी नपढाउँदा विद्यार्थीले परीक्षाको तयारी गर्न पाउँदैनन् । अनि अन्तिम समयमा गाइड र गेसपेपरकै भर पर्नुपर्छ।’ जनकपुर पिराडीचोकका अजय जसवाल शिक्षकले राम्ररी नपढाउँदा विद्यार्थी मार परेको बताउँछन् । उनी भन्छन्, ‘सबै शिक्षकले राम्ररी पढाउँदैनन् । परीक्षामा राम्रो अंक ल्याउन गाइड नपढी हुँदैन।’, अन्नपूर्ण पोस्टमा खबर छ ।