२२ असार २०८३, सोमबार

अख्तियारमा स्थानीय तह सम्बन्धी भ्रष्टाचारका उजुरीको चाङ

चैत ११, २०७५
अख्तियारमा स्थानीय तह सम्बन्धी भ्रष्टाचारका उजुरीको चाङ

बुटवल – अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा स्थानीय तहमा भएका अनियमितताका उजुरी धेरै आउने गरेका छन् ।

कार्यालयका प्रमुख तारानाथ अधिकारीका अनुसार चालू आर्थिक वर्षमा १ हजार १ उजुरी दर्ता भएका छन् । त्यसमध्ये ३ सय ५७ वटा उजुरी स्थानीय तहका रहेका छन् ।

अख्तियारले पक्राउ रंगेहात घुस रकमसहित पक्राउ परेका पनि स्थानीय तहमा कार्यरत कर्मचारीहरू धेरै देखिन्छन् । उजुरीले स्थानीय तहमा मौलाएको भ्रष्टाचारलाई देखाउँछ ।

‘उजुरीको चापलाई हेर्दा स्थानीय तहका उजुरीहरू धेरै देखिन्छन् । हामी कहाँ चालू आर्थिक वर्षमा दर्ता भएका १ हजार १ उजुरी मध्ये ३ सय ५७ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित परेका छन् । त्यसमध्ये १ सय ५३ वटा हामीले फर्छ्यौट पनि गरिसकेका छौं,’ उनले थपे, ‘स्थानीय तहको आन्तरिक आर्यको विनियोजन र खर्च पारदर्शी नभएको, सामाजिक सुरक्षा भत्तामा अनियमितता, सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता जस्ता उजुरी परेका छन् ।’

त्यसपछि दोस्रो नम्बरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित ३ सय १० वटा उजुरी परेको छन् । जसमा कार्यालयले १ सय ३८ वटा फर्छ्यौट गरेको छ । भूमिसँग ८५, भौतिक पूर्वाधारसँग ५०, वनसँग ४९, उर्जासँग ३४, स्वास्थ्य ३३, गृह २८, कृषि १४ र अन्यसँग सम्बन्धित ४१ वटा उजुरी परेका कार्यालयको भनाइ छ ।  ‘कार्यालयमा परेका उजुरीमध्ये ४ सय ९२ उजुरी फर्छ्यौट गरेका छौं । फर्छ्यौटको प्रतिशत हेर्दा हामी ४९.१५ प्रतिशत हुन आउँछ,’ अधिकारीले भने ।

रुपन्देहीका उजुरी धेरै 

आयोगको तथ्यांक अनुसार बुटवल कार्यालय अन्तर्गत १० जिल्लामध्ये सबैभन्दा बढी रूपन्देहीका उजुरी परेका छन् । रूपन्देहीका ३ सय ३८ उजुरी परेकोमा आयोगले ७७ उजुरीको मात्र फर्छ्यौट गरेको छ ।

कपिलवस्तुका १ सय ९७ मध्ये ९५ फर्छ्यौट, नवलपरासी पश्चिम १ सय ७९ उजुरीमध्ये ६२ फर्छ्यौट, अर्घाखाँचीका ७२ मध्ये ४६ फर्छ्यौट, पाल्पाका ५३ उजुरीमध्ये ४१ फर्छ्यौट, गुल्मीका ४८ मध्ये ३२ फर्छ्यौट, नवलपरासी पूर्व ४९ मध्ये २९ फर्छ्यौट, रोल्पा ३१ उजुरी ७ फर्छ्यौट, प्यूठान १२ मध्ये २ फर्छ्यौट र रुकुम पूर्व ७ उजुरी मध्ये १ वटा कार्यालयले फर्छ्यौट गरेको छ भने रुकुम पूर्वमा ७ वटा उजुरी परेकोमा १ वटा मात्र फर्छ्यौट गरेको छ । आयोगका अनुसार कपिलवस्तुमा १ सय ९७, नवलपरासी पश्चिममा १ सय ७९, अर्घाखाँचीमा ७२, पाल्पा ५३, गुल्मी ४८, रोल्पा ३१ र प्युठान १२ वटा उजुरी परेको थियो । 

बेनामे उजुुरी धेरै 

कार्यालयमा परेका उजुरीमध्ये धेरै बेनामे छन् । कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार कार्यालयमा आएका उजुरीमध्ये ५४ प्रतिशत बेनामे रहेका छन् । कतिले अरुलाई दुःख दिने मनसायले पनि उजुरी दिएको पाइएको छ ।

कति समात्यो अख्तियारले रङ्गेहात ?

अख्तियारले आर्थिक वर्षमा शाखा कार्यालयले ठूलो रकमसहित रङ्गेहात ६ जनालाई पक्राउ गरेको छ । गएको साउन १२ गते तम्घास, सिमलटारी, प्यूठान सडक आयोजनाका सवइन्जिनियर प्रकाश झालाई १ लाख घुससहित पक्राउ परे । साउन १२ गते नै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भैरहवा रुपन्देहीका डिभिजन प्रमुख सुरेश ठाकुर र उनकी पत्नीलाई ३६ लाख रुपैयाँ घुससहित परे । साउन २८ गते यातायात व्यवस्था कार्यालय लुम्बिनी सवारी दर्ता बुटवलका मेकानिकल इन्जिनियर सरोजकुमार शाहलाई २० हजार घुससहित रङ्गेहात पक्राउ गरेको थियो । 

गएको पुस ८ गते बुटवल उपमहानगरपालिकाका शाखा अधिकृत भरत काउचालाई ५ हजार घुससहित पक्राउ परेका छन् । पुस १३ गते शुद्धोधन गाउँपालिकाका कार्यालयका इन्जिनियर कपिल अर्याललाई ८० हजार घुससहित पक्राउ परेका छन् । फागुन ११ गते कृष्ण धार्मिक मावि वसन्तपुर कपिलवस्तुका विद्यालय व्यवस्थापन समितिका सदस्य विजयनाथ चौवेलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गर्न सफल भएको छ ।

कस्ता प्रकृतिका आउँछन् उजुुरी ?

भवन बनाउँदा गुुणस्तरहीन काम भएको, छात्रवृत्ति रकम दुुरुपयोग भएको, पाठ्यपुुस्तक वितरणमा अनियमितता भएको, विद्यालय कोषको रकम अनियमितता भएको, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएको, सामाजिक सुुरक्षा भत्तामा अनियमितता, उपभोक्ता समितिमार्फत् हुने गरेका विकास निर्माण सम्बन्धी काम गुुणस्तरहीन भएको, सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता, वन क्षेत्र ऐलानी जग्गामा निजी विद्यालय भवन, औषधि खरिदमा अनियमितता, दिवा खाजामा अनियमितता, स्थानीय तहको आन्तरिक आयको विनियोजन र खर्च पारदर्शी नभएको लगायत विषयमा उजुरी पर्ने गर्छन् ।

उजुुरीका स्रोत

अख्तियारमा आउने उजुुरीमध्ये धेरै चिठीपत्रका बढी छन् । चिठीबाट ८ सय ८४, इमेलबाट ८१, फेसबुकबाट ४, टेलिफोनबाट १३, पत्रपत्रिकाबाट ११ र फयाक्सबाट ८ वटा उजुरी आएका छन् । 

कति रकम असुुल्यो ?

अख्तियारले ८ जना प्रतिवादीबाट ३९ लाख ७७ हजार ५ सय रुपैयाँ असुल गरेको छ । १८ प्रतिवादीको बिगो मुुद्दा दायर दाबीबाट ३ करोड २६ लाख ६८ हजार ३ सय ५ रुपैयाँ र असुुलउपर ९६ लाख २ हजार ३ सय १४ रुपैयाँ गरिएको छ । 

५१ दरबन्दीमा ३५ जना कार्यरत

अख्तियार बुटवलको कार्यालय २०७० सालमा स्थापना भएको हो । कार्यालयमा ५१ जना कर्मचारीको दरबन्दी भएपनि ३५ जना मात्र कार्यरत छन् । कार्यालयको कार्यक्षेत्र १० जिल्ला हो । अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा पनि छ, कार्यालयले ३ जिल्ला हेर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्