२० असार २०८३, शनिबार

एसईई परीक्षाको प्रश्नपत्रमा त्रुटि नै त्रुटि, ग्यास सिलिण्डर पड्किएर चार जनाको मृत्यु

एसईई परीक्षाको प्रश्नपत्रमा त्रुटि नै त्रुटि, ग्यास सिलिण्डर पड्किएर चार जनाको मृत्यु

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्नपत्र अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो । 

एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ । प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ ।

प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किए भन्ने खबर कान्तिपुर दैनिकमा छ । सातवटै सेटको प्रश्न नम्बर ९ अस्पष्ट छ । त्यसमा भनिएको छ, ‘आफ्नो भाइका बारेमा तीन वाक्यमा वर्णन गर्नुहोस्।’ यस्ता प्रश्नले विद्यार्थीलाई झुक्याउने नेपाली विषयका प्रश्न निर्माणविज्ञ देवीराम आचार्यले बताए ।

निर्वाचन आयोगमा थपलिया सिफारिश
संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ ।  सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन् ।

यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त भएका थिए । परिषद्को सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ । परिषद्का सदस्य एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक भएकाले परिषद् बैठकमा उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाएका थिए ।

बढुवामा नपरेपछि सशस्त्रका दुई डीएसपीले दिए उजुरी
एसपीमा भएको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै सशस्त्रका दुई डीएसपीले गृहमन्त्रालयमा उजुरी गरेका छन् । बढुवा सिफारिसमा आफूहरू छुटेको भन्दै डीएसपी लेखनाथ खनाल र अच्युतकुमार मजगैयाँले आइतबार गृहसचिव प्रेमकुमार राई अध्यक्ष रहेको समितिमा उजुरी दिएको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

सशस्त्र प्रहरी बलले गत फागुन ५ गने ३७ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । ‘नियमावलीमा व्यवस्था भएबमोजिम बढुवा सिफारिसमा चित्त नबुझेकाले उजुरी दिएका हौँ’, खनालले भने । उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा सिफारिस गरिएको हो सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । ‘कार्यसम्पादनका आधारमा बढुवा सिफारिस गरिएको हो । संगठनले कसैलाई विभेद गरेको छैन’, उनले भने ।

सिलिण्डर पड्किएर चार जनाको मृत्यु
 सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, गोरखापत्रमा खबर छ । 

आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले भने सिलिण्डर पडकिँदा मानवीय क्षति भएको भएको खबर प्राप्त भएको जानकारी दिए । “मृतकको सङ्ख्या यकिन हुन सकेको छैन, आयोजनास्थल विकट क्षेत्रमा भएकाले फोन सम्पर्क हुन सकिरहेको छैन”, उनले भने । विसं २०६९ मा निर्माण शुरु भएको २२ दशमलव दुई मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको कसजुले बताए ।

प्रहरीका अनुसार घटनामा दुई जनाकाे मृत्यु भएकाे छ । चार जनाकाे मृत्यु भएकाे भनिए पनि दुई जनाकाे अवस्था अज्ञात छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

माथिल्लो त्रिशूली थ्री बीमा ६६ करोडको आवेदन
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा  लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । यही चैत ७ गतेदेखि बिक्री शुरु भएको त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा रु ६६ करोड ३३ लाख ६३ हजार २०० बराबरको आवेदन गरिएको छ । 

कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार यो तथ्याङ्क सोमबार साँझ ५ बजेसम्मको हो । बैंक तथा वित्तीय संस्थाले केही शेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्नेछ । 

कूल एक लाख ५५ हजार ४७४ आवेदकले  छ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका छन् । कूल रकमका आधारमा करीब दुई गुणा बढी र आवेदन भएको शेयर सङ्ख्याका आधारमा भने करीब १८ गुणा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

सङ्कटा सेमिफाइनलमा
काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्ड कप’ फुटबल प्रतियोगितामा अत्तरिया क्लबलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सङ्कटाले अत्तरिया क्लबलाई शून्यका विरुद्ध तीन गोल गरी सेमिफाइनलमा प्रवेश गरेको हो । 
    
अहिलेसम्मको प्रतिस्पर्धाका आधारमा सङ्कटा, काभ्रे जिल्ला फुटबल सङ्घ र जावलाखेल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेल आगामी १३ गते हुनेछ । मङ्गलबार नेपाल आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । यही चैत ७ गतेदेखि शुरु भएको प्रतियोगिता यही चैत १६ गते सम्पन्न हुने आयोजक काभ्रे जिल्ला फुटबल सङ्घले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्