०७ साउन २०८३, बिहीबार

कालोपत्रे सडकबीच उभिएका रुख 'ज्यानमारा' बन्ने खतरा

चैत १२, २०७५
कालोपत्रे सडकबीच उभिएका रुख 'ज्यानमारा' बन्ने खतरा

धनगढी- चैत ६ गते धनगढी उपमहानगरपालिका–७ स्थित निर्माधिन रिङ रोडमै रहेको पोलमा ठोक्किएर जीप दुर्घटना भयो । जीपमा सवार ४ जना घाइते भए ।

२ हप्ता अगाडि सोही रोडको मनेहरा क्षेत्रमा मोटरसाइकल चालकले रोडको बीच भागमा रहेको रुखलाई पन्छाउन खोज्दा नालीमा परे । मोटरसाइकलमा क्षति पुग्यो भने चालक घाइते भए ।

धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माणाधीन रिङ रोडमा घट्ने यी प्रतिनिधि घटना मात्रै हुन् । जहाँ दैनिक सडक दुर्घटना हुँदै आएका छन् ।

कोलोपत्रेको शुरूआत गरिएको रोडमा रुखैरुख र केही विद्युतका पोल छन् । यस्तो अवस्थामा सो सडक सघन सहरी विकास आयोजनाअन्तर्गत कालोपत्रेको काम गत शनिवारदेखि शुरूआत गरिएको छ ।

कटानको अनुमति नपाएपछि सडकभरि रुख रहेको अवस्थामा कालोपत्रेको काम भइरहेको छ । नेपाल सरकारको सघन सहरी विकास आयोजनाअन्तर्गत धनगढी बजार क्षेत्र आसपासका ग्रामीण वस्तीमा निर्माणाधीन सडक रुख रहेकै अवस्थामा कालोपत्रे गर्न लागिएको छ ।

स्थानीयवासिन्दाले भने सडकमै रुख राखेर कालोपत्रे भए सडक दुर्घटनामा उल्लेख वृद्धि हुने बताउँदै आएका छन् । मनेहराकी स्थानीय रेवती ठकुल्लाले भनिन्, ‘कालोपत्रेको तयारी हुँदासम्म त दिनहुँ आफ्नै आँखै अगाडि दुर्घटना देखिरहेका छौं । पछि त झन् कस्तो–कस्तो देख्नु पर्ने हो ।’

मनेहराका अर्का स्थानीय भुखाली चौधरीले सडकमा भएको रुखले सडक दुर्घटना हुनुका साथै स्थानीयहरू जोखिममा रहेको बताए । ‘बीचमा रहेका रुखले दुर्घटनाको जोखिम त छँदै छ । रुखका हाँगा खसेर पनि दुर्घटना हुँदै आएका छन् । हाम्रो भनाइ वन विनाश गरौं भन्ने होइन । तर बीच सडकमा रहेका रुख काटेर मात्र कालोपत्रे गर्नुपर्‍थ्यो  भन्ने हो । तर के गर्नु,' निन्याउरो मुख लगाउँदै चौधरीले भने, 'रुख काट्न खोजे वनले दिँदैन । रुख पहिलादेखि छ कि तिमीहरू पहिला बस्न आयौ ? भनेर सवाल गर्छन् । मुखै बन्द हुन्छ ।’

आयोजना अन्तर्गत झण्डै २ अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ । संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रको केही खण्डमा २ सय ८४ वटा सानाठूला रुख पर्छन् । 

बजार आसपासका वस्तीमा पहिलेदेखि नै चलनचल्तीमा रहेका यी कच्ची सडकअन्तर्गत रुख भएका ठाउँमा रुख वरिपरि हिँड्ने बाटो थियो । रुख काट्ने अनुमति पनि नपाइएको र रुख भएका ठाउँमा सडक यताउता सारेर निर्माण गर्ने अवस्था पनि नरहेको भन्दै यथावत् अवस्थामै कालोपत्रे गर्ने तयारी कार्यालयले गरेको छ । 

आयोजना कार्यान्वयन ईकाइ प्रमुख सुरेशकुमार वाग्लेले रुख भएको स्थानमा रुख परिपरि केही ठाउँ छाडेर अन्यत्र कालोपत्रे गरिने बताए । यसअघि चलनचल्तीमै रहेका कच्ची सडक स्तरोन्नतिका लागि छनोट गरिए पनि रुख काट्ने अनुमति नपाउँदा समस्या भएको वाग्लेले बताए । वातावरणीय प्रभाव मूल्यांकन गरी रुख कटान अनुमतिका लागि गत असारअघि नै फाइल वन मन्त्रालयमा पठाइए पनि स्वीकृति नपाएको उनले जनाए ।

कमेन्ट गर्नुहोस्