
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ। विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ।
फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको अध्यागमनले प्रवेश दिएन।
मरिसस प्रहरी र अध्यागमनका कर्मचारीले धेरैबेर केरकार गरेपछि पाँचै जनालाई सोही दिन दुबई हुँदै नेपाल फिर्ता गरिदियो। उनीहरू पर्यटक भिसामा फागुन १६ गते काठमाडौंबाट दुबई हुँदै अफ्रिकी मुलुक मरिसस गएका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।