
बुटवल- बुटवलमा बुधवार साँझ अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका फिरोज खानको हत्या गर्ने व्यक्तिलाई प्रहरीले खोजी गरे पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । तर, प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गर्न आफूहरूले ‘लिड’ लिइसकेको दाबी गरेको छ ।
उनको कसले र किन हत्या गर्यो भन्ने अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटनामा संलग्न भएको आशंकामा तीन/चार जनालाई शंकाको घेरामा राखेको बताए । उनले भने, ‘हामी ‘वाच’ गरिराखेका छौं । छिट्टै पक्राउ गछौं ।’
उनले बुटवल–१ गढीटोलमा बुधवार साँझ ८ बजेतिर अज्ञात समूहले गोली हानेको प्रहरीको भनाइ छ । पछाडिबाट हानेको गाली अगाडिबाट निस्केको थियो । गोली हान्न कटुवा पेस्तोल प्रयोग भएको प्रहरीले जानकारी दिएको छ । खानको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
४५ वर्षीय खान विगत लामो समयदेखि बुटवल मैनाबगरस्थित अटो ग्यारेजमा मजदुरी गर्दै आएका थिए । खान श्रीमती र दुई छोरासहित बुटवलमा बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै हत्यारा फुत्केर बाहिर नजाने बताए । रूपन्देहीमा अवराधिक घटना बढ्दै गएका छन् । १५ दिन अगाडि देवदहका युवा अनिस पुरीको पनि हत्या भएको थियो । पुरीको हत्यामा संलग्न चार जना देवदहका युवाहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।