
बारा– बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुही गाउँका दलित बस्तिमा पीडितहरू रातभर खुला आकाशमा जाग्राम बसे । आइतवार साँझ आएको विनाशकारी शक्तिशाली हुरीबतासका कारण भलुही गाउँका दर्जनौं घरहरू भत्किएपछि त्यहाँका स्थानीयहरू खुला आकाशमैं रात काट्न बिवश भएका हुन् ।
६० बर्षीय राम सुरत दास ६० दिनको नातिनीलाई काखमा राखेर रातभर खुल्ला आकाशमा बस्न बाध्य छन् । आइतवार साँझ आएको ठूलो हुरी बतासका कारण दासले आफ्नो श्रीमती मतिलेश्वर देबी र बुहारी रुना देबीलाई गुमाउनु परेको छ । सोमबार साँझ दाह संस्कार गरे पनि किरियामा बसेका दास आफ्नो छोरा भीम दाससंगै नातिनीलाई लिएर खुला आकाशमैं रात काट्न बाध्य छन् ।

च्युरा मिठ्ठा खाएर त्यहाँका स्थानीयले रात काटे । उनीहरूकै छेउमैं अर्की ६० बर्षीय महिला कुन्ती देबी भत्किएको घर अगाडी एउटा चटाईमा रात भर बसिरहेकी थिइन् । उनको परिवारमा १२ जना सदस्य छन् । छोराहरू परमानन्द राउत, रामप्रसाद राउत, बिरेन्द्र राउत, जय कर्ण राउत, शत्रुघन राउत, राम शरण राउत, बुहारीहरू सुगन्धि देबी, सबिता देबी, अन्जु देबी, अनिता देबी, तेतरी देबी र नाती नातिनीहरू सहितको परिवारलाई सम्हाल्न गाह्रो भएको छ ।

‘१२ दिनको एक जना नाति अभिमन्यु र २० दिनको अर्को नाति बिरेन्द्रलाई छिमेकीको घरमा राखेकी छु,’ सोमबार राति १० बजे उनको गाउँमा पुग्दा कुन्ती देबिले भनिन्, ‘रात कसरी काट्ने?’ घर भत्किदा परिवारका सबै जसो सदस्य घाइते भएको भन्दै उनले भनिन्, ‘हिजो पनि रात भर जागेकै थियौं, आज पनि रातमा जागेरै बस्नु पर्ने बाध्यता छ ।’ भएको घर नै भत्किए पछि अब के गर्ने भन्दै कम से कम बस्ने ब्यबस्था सरकारले गरि दिओस उनले भनिन् ।

‘सरकारले राहतको नाउँमा चाउचाउ र मिनरल पानीको बोतल सोमबार बिहान दिएको थियो,’ उनका घाईते छोरा परमानन्द राउतले भने, ‘सरकारले हामीलाई रात काट्न तत्काल एउटा पाल त दिएको भए हुन्थ्यो ।’ सोमबार दिनभर प्रदेश सरकारका मन्त्रीदेखि बिभिन्न सांसद र नेताहरू आए, तर कसैले पनि रातमा बस्नका लागि पाल भने लिएर आएनन् उनको गुनासो छ ।

अर्का स्थानीय नरेश दास खुला आकाशमैं आफ्नी नातिनीलाई लिएर सुतेका थिए । आफ्नी श्रीमती संगै एउटा चटाइमा बसिरहेका उनले आफ्नो बुहारी गुमाएकी छन् । जुन नातिनीलाई जोगाउनका लागि उनकी आमाले आफ्नो ज्यान नै दिईन्, उनको सन्तानलाई कसरी बचाउने भन्ने उनमा ठूलो चिन्ता छ ।

दासले भक्कानिएर रुँदै भने, ‘राति पानी पर्यो भने के गर्ने?’ पोता पोती अर्थात नाति र नातिनीलाई लिएर रातमा कहाँ जाने भन्दै उनी रुन थाले । स्थानीय सन्त प्रसाद पालका अनुससार उक्त गाउँमा प्रायः जसो दलित बस्ती छ ।
सबै अत्यन्तै गरीब छन् । अहिले उनीहरू घरबार बिहिन भएपछि रात काट्न ठूलो समस्या भएको छ । पाल पनि नहुँदा खुल्ला आकाशमा रात काट्दा बच्चाहरु बिरामी पर्ने खतरा बढेको छ । कतिपय बालबालिका त्यसै पनि बिरामी भई सकेको उनले बताए ।