०३ असार २०८३, बुधबार

'समाचार लेख्ने धेरै आए, हामीलाई छाना चाहियो'

चैत १९, २०७५
'समाचार लेख्ने धेरै आए, हामीलाई छाना चाहियो'

बारा- आइतवार साँझ आएको हावाहुरीबाट प्रभावित बारा जिल्ला, फेटा गाउँपालिकाकाको भरबलिया क्षेत्रका पीडितहरूले बस्नका लागि 'छानो' माग गरिरहेका छन् । कम्तिमा २७ जनाको ज्यान लिएको र सयौंलाई घाइते बनाएको हुरीबाट बाँचेकाहरू यतिबेला राहतका लागि फाट्टफुट्ट आउने खानामा मात्र निर्भर छन् ।

सरकारले सोमवार साँझ बाँडेको त्रिपालमा पनि अनियमितता भएको र नक्कली पीडितको हातमा परेको भन्दै यसअघि नै पीडितहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।

हुरीबाट सबैभन्दा बढी पीडित क्षेत्र फेटा गाउँपालिकाको वडा नम्बर १ हो । लोकान्तरकर्मी मंगलवार बिहानै उक्त क्षेत्रमा पुग्दा बालबालिका र महिला सामूहिक खानपान लागेका थिए भने युवा र वयस्क पुरुषहरू आफ्नो भत्किएको घरमा केही सामान सुरक्षित भेटिन्छ कि भनेर खोजिरहेका थिए ।

बच्चाबच्ची र वृद्धवृद्धाले रात शीतमा कटाएका छन् । कोही त बिरामी पनि भइसकेका पीडितले बताए । 

'हाम्रो केही बाँकी रहेन,' ७० वर्षीया मायादेवी पटेलले आँखाबाट आँशु झार्दै भनिन्, 'हामीलाई बासको व्यवस्था गरिदिए हुन्थ्यो । यहाँ जो पनि आउँछन्, फोटो र भिडियो मात्र खिचेर जान्छन् । हाम्रो घर गयो, वस्तुभाउ गए, रातभर हामी खुला आकाशमा बस्न बाध्य भयौं ।' 

'यहाँ प्रधानमन्त्री आएर पनि केही हुँदैन, हामीलाई नेता, सरकार, पत्रकार कोही चाहिँदैन,' नजिकै रहेका उमेशप्रसाद कुर्मीले भने, 'हामीलाई छाना चाहिएको हो । आज दिन त जसरी पनि बित्ला, रात उही खुला आकाशमा बिताउनु पर्ने डर छ ।' 

गर्मी मौसम शुरू भएकाले लामखुट्टे बढी लाग्ने गरेको अर्का पीडितले बताए । 'मच्छड मात्र होइन, अहिले त साँप (सर्प)को पनि बिगबिगी शुरू भइसक्यो । हामी त जे सुकै गर्थ्यौं, हाम्रा छोराछोरी र वृद्ध आमाबुबा बिरामी हुने भए । बल्लतल्ल बाँचेको ज्यान पनि बिरामी भएर मर्ला जस्तो पीर परेको छ ।' 

भाँडाकुँडाहरू भत्किएको घरमा थिचिएका छन् । खुला आकाशमा आगो बालेर पकाउने कुनै साधन छैन ।

कपडाहरू भत्किएको घरभित्र छन् । फेर्ने कपडा छैन । बच्चाबच्चीहरू नांगै हिंडिरहेका छन् ।

दिनमा घाम र रातमा शीतले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । पीडितहरू दुई रातसम्म सुत्न पाएका छैनन् । 

'बिजुलीबत्ती र खाने पानी छैन । दिशापिसाबका लागि शौचालय छैन,' श्रीमती गुमाएका रामबाबु कुर्मीले प्रश्न गरे, 'सबै समाचार लेख्न मात्र आउँछन् । हामीलाई समाचारले खाना र बस्न दिने हो र ? सरकारले हाम्रो व्यवस्थापन छिटो गरिदिनुपर्‍यो । प्रधानमन्त्री जी आउनुभयो र हिजो, हेलिकप्टरबाट हेरेर जानुभएछ । तर हामी खुला आकाशमा रात बिताउन बाध्य भयौं ।' 

कुर्मीजस्तै अन्य धेरैको गुनासो यस्तै छ । घटनास्थलमा आफन्त गुमाएका, ठूलो चोटपटक लागेकाहरू बढी चिन्तित छन् । उनीहरूमा मनोवैज्ञानिक पीडा अत्याधिक छ । पहिलेदेखि नै बिरामी भएकाहरूको औषधि घरभित्रै च्यापियो ।

'पहिल्यैदेखि बिरामी हुनेहरूको अवस्था झन् बैराग छ,' एक पीडितले आफ्नो गुनासो सुनाए, 'मेरो भर्खर हातको अपरेसन भएको थियो । मैले औषधि खाइरहेको थिएँ । हुरीले घर उडाएपछि मेरो औषधि भेटिएको छैन । त्यहाँमाथि घर भत्किँदा मलाई थप चोट लाग्यो ।' 
 

salt training

कमेन्ट गर्नुहोस्