
काठमाडौं– नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा छ ।
पछिल्लो मत परिणामअनुसार लोकतान्त्रिक समूहको अग्रता छ । लोकतान्त्रिक समूहका पोखरेलले ७८ मतले अग्रता लिएका छन् । गएरातिसम्मको परिणामअनुसार पोखरेलले १ हजार ४ सय ३१ र श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएका छन् । इलाम, झापा र विराटनगरको मतगणना सकिँदासम्म प्रगतिशील समूहका श्रेष्ठले ८७ मतले अग्रता लिएका थिए ।
यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् । पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाएका छन् ।
अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना बाँकी छ । मत गणना आज विहान ९ बजेबाट पुनः शुरु भएको छ । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि काठमाडौं उपत्यकासहित देशभरका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो ।