काठमाडौँ, चैत ३ - प्रमुख सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच समसामयिक परिस्थितिबारे आज सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल सकारात्मक भएको सत्ता पक्षले जनाएको छ । मोर्चाले भने छलफल खासै उपलब्धिमूलक नभएको प्रतिक्रिया दिए पनि वार्ताबाटै समस्याको समाधान निस्कने धारणा राखेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले विद्यमान गतिरोध अन्त्य गरी निर्वाचनतर्फ जानुपर्ने प्रस्ताव राखेकोमा मोर्चाले संशोधन प्रस्तावलाई टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने अडान दोहो¥याएको थियो ।
प्रधानमन्त्रीले सीमाङ्कनलाई थाती राखेर संशोधन प्रस्तावलाई अघि बढाउन आग्रह गरेकोमा मोर्चाले कुनै पनि विषयलाई थाती राखेर अघि बढ्न नसकिने जनाएको बताइएको छ ।
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मोर्चासँगको छलफल निकै सकारात्मक रहेको र समस्याको समाधान निस्कने जिकिर गरे। “बैठकमा प्रधानमन्त्रीले जति पनि समस्या छन् तिनको समाधान गरेर निर्वाचनमा जानुपर्छ भने, हाम्रो बटमलाइन समाधान हो, सबैलाई समाधानमा ल्याउन सकिन्छ, समस्या समाधान हुन्छ र निर्वाचन हुन्छ भन्ने विश्वास छ,”, उनले भने ।
मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रक्रिया टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने बताए ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संशोधनलाई कसरी अघि बढाउने भन्नेबारे दुवै पक्षबीच खुलस्त छलफल भए पनि कुनै निष्कर्ष ननिक्लेको बताए । उनले भने –“मोर्चा आन्दोलनसँगै वार्ताको पक्षमा छ, वार्ताबाटै समाधानमा जान सकिन्छ । ”
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका कोषाध्यक्ष एवम् शान्ति तथा पुनः निर्माणमन्त्री सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापा तथा मोर्चाका तर्फबाट नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण, अनिलकुमार झालगायतको सहभागिता थियो ।