
काठमाडौं – हे नामक ताइवानकी एक महिला यसै हप्ता सुन्निएको आँखाका कारण अस्पतालमा भर्ना भइन् । उनले आँखामा सामान्य संक्रमण भएको ठानेकी थिइन् ।
तर उनको आँखाको ढकनीमुनि चारवटा माहुरी रहेको र तिनले उनको आँसु पिएर बसेको थाहा पाउँदा उनी र उनको उपचार गर्ने चिकित्सक स्तब्ध भए ।
फूयिन विश्वविद्यालय अस्पतालका चिकित्सकहरूले यो संसारकै पहिलो घटना भएको बताए । उनीहरू हेको अश्रूनलीबाट चारैवटा माहुरी निकाल्न सफल भए ।
एक पत्रकार सम्मेलनका क्रममा अस्पतालको नेत्ररोग विभागका प्रमुख डा हुङ ची–टिङले भने, ‘मैले कीराको खुट्टा जस्तो वस्तु देखें त्यसैले मैले तिनलाई माइक्रोस्कोपमुनि राखेर बिस्तारै तानें । उनीहरूको जिउमा क्षति नपुग्ने गरी मैले तानें ।’
सीटीएस न्युजका अनुसार, हेले आफ्नो परिवारका एक सदस्यको चिहानको रेखदेख गर्ने क्रममा झारपात तान्दा केही कुरा आँखाभित्र पसेको जस्तो ठानिन् । माटो परेको होला भन्ठानेर उनले पानीले आँखा पखालिन् तर राति हुँदा आँखा सुन्निन थाल्यो र आँखाको ढकनीमुनि घोचेको जस्तो अनुभव उनलाई भयो ।
भोलिपल्ट बिहान अस्पतालमा डा हुङले संक्रमणको शंका गरे तर हेको आँखा माइक्रोस्कोपमा हेर्दा माहुरीका साना खुट्टा अश्रूनलीमा हल्लिरहेको देखे । माहुरीहरूले हेको आँसुको पानी र नून पिएर बसेका थिए ।
उनले आँखा नमाडेको भएर उनको दृष्टि र माहुरीहरूको जीवन जोगियो ।
हालिक्टिडे भनी चिनिने साना माहुरीहरू मानिसको पसिनाप्रति आकर्षित हुन्छन् । तिनीहरू प्रायः आक्रामक हुँदैनन् र छोएमा मात्र चिल्छन् । यस्ता माहुरी पहाड र चिहानहरूतिर भेटिने डा हुङले बताए ।
द गार्डियनबाट