
जाजरकोट – दलित र जनजाति समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकाय गाउँमा बर्सेनि खानेपानीको समस्या भएपनि समाधान हुन सकेको छैन ।
करीब ३ सय ५० घरपरिवार रहेको गाउँमा खानेपानीका लागि पटक–पटक आवाज उठाएपनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ ।
स्रोत तथा मुहान अभावमा वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका स्थानीय समस्यामा परेका छन् । खानेपानी अभावमा जनता आधारभूत विद्यालयका २ सय विद्यार्थी समेत प्रभावित भएका छन् ।
गाउँका महिला र बालबालिकाले पानी ओसारपसारमै समय खर्चिने गरेका छन् । कतिपय स्थानीयवासी आकाशे पानी संकलन गरेर गुजारा चलाउन बाध्य रहेका स्थानीय मने कामीले बताए ।
पानीको अभावमा शौचालयसमेत प्रयोग गर्न समस्या भएको उनको भनाइ छ । गाउँ आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिंगो गाउँ रहेको स्थानीय सावित्रा विकले बताइन् । उनले भने, ‘१ गाग्री पानी ल्याउन घण्टौं पालो कुनुपर्ने, त्यसैमा दूषित पानी छ, कपडा धुन र नुहाउन २ घण्टा टाढाको घाटखोला जानुपर्ने बाध्यता छ ।’ महिनावारी र सुत्केरी महिलालाई सरसफाइमा झन् समस्या हुने गरेको बताइएको छ ।
जलवायु परिवर्तन, बढ्दो वन विनाश, बाढी पहिरो, सुक्खा खडेरीलगायत कारण गाउँमा खानेपानीको समस्या बढ्दै गएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । उनले भने, ‘बृहत् खानेपानी आयोजनाको पहलमा छौं, प्रदेश सरकारले सहयोग गरेमा अर्को वर्ष खानेपानीको समस्या हल हुनेछ ।’
गाउँपालिकाको बजेटबाट खानेपानी आयोजना निर्माण गर्न अर्थ अभाव रहेको शाहले जानकारी दिए ।