काठमाडौँ–नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले सांसद लिङ्देनलगायत विभिन्न व्यक्तिलाई फोन सम्पर्क गरेर रकम माग गरी नदिएमा गोप्य भिडियो बनाई सार्वजनिक गरी बेइज्जत गरिदिने साथै ज्यान मार्ने धम्कीसमेत दिने हुम्लाका १९ वर्षीय प्रदीप रोकाया र झापाका २९ वर्षीय तिलकदास पराजुलीलाई चैत २५ गते बालाजु र टोखाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले मोबाइलमार्फत नेपाली र हिन्दी भाषामा बोलेर धम्की दिएर रकम माग गरेको र रकम नदिएमा ज्यान लिन धम्की दिएको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।