
खार्तुम– सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ ।
उहाँलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षामन्त्री अवाद इब्नौफले राज्यद्वारा सञ्चालित टेलिभिजनबाट घोषणा गर्नुभएको हो ।
“मैले रक्षा मन्त्रीको हैसियतमा घोषणा गर्दछु कि यस सरकारको नेतृत्वलाई हटाएर सुरक्षित स्थानमा राखिएको छ,” इब्नौफले भन्नुभयो ।
बशिरले राज्य विद्रोह ‘कू’ गरी सन् १९८९ देखि हालसम्म शासन गर्दै आउनु भएको थियो । विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि उहाँलाई अहिले पदमुक्त गरिएको हो ।
सेनाले सैन्य परिषद् गठन गरिएको र दुई वर्षका लागि बशिरलाई हटाइएको पनि स्पष्ट पारेको छ ।
रक्षामन्त्री इब्नौफले देशको हवाई क्षेत्र र सीमा क्षेत्रहरू बन्द गरिएको र अन्तर्राष्ट्रिय आवतजावतमा अर्को सूचना जारी नहुँदासम्म निषेध गरिएको जनाएको छ ।
सेनाले बन्दी बनाइएका सबै राजनीतिक नेतालाई थुनामुक्त गरिदिएको पनि घोषणा गरेको छ ।
देशको शक्तिशाली निकाय मानिएको सुडानी सेनाले आज सार्वजनिक वक्तव्यमार्फत जनताको पक्षमा उभिएको घोषणा गरेको छ ।
सरकारी सञ्चारमाध्यममार्फत सम्प्रेषित समाचारमा देशभरी रहेका राजनीतिक दलका बन्दी नेताहरूलाई थुनामुक्त गरिदिने घोषणा गरेको उल्लेख छ ।
खार्तुमका हजारौँ बासिन्दा सेनाको मुख्यालय बाहिर विगत छ दिनदेखि धर्नामा बसिरहेका बेला सेनाले बन्दी नेताहरूलाई नियन्त्रणमुक्त गरिदिएको हो ।
प्रदर्शनकारीहरूले बन्दी बनाइएकालाई थुनामुक्त गर्न माग गरिरहेका थिए । उनीहरूको मागअनुसार सेनाले उनीहरूलाई छाडिदिएर प्रदर्शनकारीलाई सहयोग गरेको छ । उनीहरूले राष्ट्रपति बशिरलाई हटाउन माग गर्दै नाराबाजी गरिरहेका थिए ।
खार्तुम अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति बसिरको राजीनामाको माग गर्दै उनीहरूले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका थिए ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयांै व्यक्तिको ज्यान जाने दाबी गरेका थिए ।
सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट शुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिएका छन् ।
गत शनिबारबाट पुनः चर्चिएको यस विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या ४९ पुगेको थियो ।
खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनःस्थापित गर्नुपर्ने आह्वानसहित प्रदर्शन शुरु भएको थियो ।
आन्दोलनको क्रममा २२ वटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका थिए ।