
पोखरा-पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन गरिएको छ ।
शनिवार साँझ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेका हुन् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित भ्रमण वर्ष शुरू भएको हो ।
मुलुका प्रचुरमात्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र आर्थिक समृद्धि हासिल गर्ने योजनामा सरकार रहेको छ । सोही योजना अनुसार पर्यटक प्रवर्द्धन गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आयोजनामा पोखरामा 'सफ्ट लञ्चिङ' गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले समृद्धिको आधार पर्यटनलाई मानर आफ्ना गतिविधि अगाडि बढाइरहेको बताए । उनले पर्यटकको बसाइ बढाउन गण्डकी प्रदेशले २ सय ३२ वटा होमस्टे सञ्चालमा ल्याइसकेको बताए ।
मुख्यमन्त्री गुरुङले पर्यटनले नै देश विकास गर्ने भन्दै गण्डकी प्रदेशमा भातरबाट धार्मिक पर्यटक ल्यान सकिने बताए । भ्रमण वर्ष पोखराको फेवा किनारबाट शुरु गरिनुले पोखरालाई पर्यटनको राजधानीको मान्यता दिएको उनले बताए ।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको बताउँदै उनले भने, ‘यो पोखराको लागि चुनौती र अवसर पनि हो, नेपालमा २० लाख पर्यटक आउँदा पोखराले ८ लाख पर्यटक भित्र्याउनुपर्छ ।’
गण्डकी प्रदेशले केन्द्र सरकारको योजना साकार पार्न सक्दो सहयोग मुख्यमन्त्री गुरुङले बताए । प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका साथै प्रदेशको गरीबी निवारण, स्वरोजगार, उत्पादन र उत्पादकत्व बढाउनको लागि पर्यटनले भूमिका खेल्ने बताए । ‘प्रदेश सरकारले ५ वर्षभित्र ३० हजारलाई ग्रामीण क्षेत्रमा रोजगार दिने भनेका छौं,' उनले भने, ‘त्यसको लागि प्रदेश सरकारले अहिले २३२ वटा होमस्टे पनि सञ्चालनमा ल्याएको छ ।’
होमस्टेलाई प्रदेश सरकारले कृषि, बजार र अन्तर्राष्ट्रिय बजारसँग जोडेका उनले बताए । 'हामीले आन्तरिक पर्यटन वर्ष पनि घोषणा गरेका छौं, यसको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्छ,’ उनले भने, ‘२०२० मा छिमेकी भ्रमण वर्ष र सन् २०२२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि सहजै २० लाख पर्यटक भित्र्याउने छौं ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटकको बसाइ अवधि लम्बाउने गरी आवश्यक पर्यटकीय पूर्वाधारमा निर्माणमा जोड दिए ।उनले सडक तथा हवाई यातायातमा सुविधा थप गरिने भन्दै ३ तहको सरकार मिल्यो भने २० लाख पर्यटक भित्राउन कठिन नरहेको बताए ।
नेपाल भ्रमण वर्ष–२०२० संयोजक सुरज वैद्यले नेपालमा धेरै भन्दा धेरै पर्यटक ल्याउन काठमाडौं विमानस्थललाई दशैंसम्म सुधार गरिने बताए ।
नेपाल पर्यटन वर्ष २०११ का संयोजक सुरेन्द्र शाक्यले राजनीतिक अस्थिरताबीच पनि यस अवधिमा ५ लाख पर्यटक भित्र्याएको स्मरण गरे । उनले हाल राजनीतिक समस्या समाधान भएकोले लक्ष्य प्राप्तिमा गर्न सफल भइने बताए ।
नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले अघिल्लो वर्ष ११ लाख बढी पर्यटक आएकोमा यो संख्या दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन लागेको बताए ।
नेपाल भ्रमण वर्ष सफल बनाउन चालु आर्थिक वर्षको बाँकी ३ महिना (वैशाख–असार)का लागि अहिले खर्च गर्न मिल्ने गरी १० करोड रुपैयाँ पनि सरकारले दिएको छ । यो रकमले तीन महिना अवधिमा प्रवर्द्धनका कामदेखि केही पूर्वाधार बनाउन समेत खर्च गरिने छ ।
नेपालमा भित्रिने पर्यटकलाई आवश्यक जानकारी दिन नेपाल र भारतका सीमा नाकासहित सातवटा ठाउँमा ‘नमस्ते सेन्टर’ बनाउने तयारी सरकारले थालेको छ ।