३० जेठ २०८३, शनिबार

गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुख महराको आग्रह

बैशाख १३, २०७६
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुख महराको आग्रह

गोरखा –सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् ।

भुकम्पपछि गोरखा दरबारको पुनःनिर्माणको  अवस्था बुझ्न आज बिहान त्यहाँ पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन  सम्बन्धीत सबैलाई आग्रह गरे । “दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो”, उनले भने, “पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुन सक्छन्, त्यसैले यसको पुनःनिर्माणमा तत्काल गर्नु आवश्यक छ ।”

उनले नेपालको इतिहासलाई जीवन्त बनाई राख्ने गोरखा दरबारको ऐतिहासिक महत्व धेरै रहेको उल्लेख गर्दै पुनःनिर्माण गर्दा दरबारको मौलिक संरचना कति पनि नबिग्रने गरी गर्नुपर्नेमा जोड दिए ।

“दरबारको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा तीनवटै तहका सरकार, स्थानीय समुदाय र सरोकारवाला निकाय सबैको चिन्ता र चासो हुनु आवश्यक छ”, सभामुख महराले भने, “गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक र पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्यौँ भने गोरखाको आर्थिक विकासमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

सभामुख महराले आजै गोरखा जिल्लाको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार सङ्ग्रहालयको समेत अवलोकन गरे । गोरखा दरबारभित्र रहेका विभिन्न ऐतिहासिक कक्ष, नेपाल एकीकरणमा प्रयोग गरिएका हातहतियार, परम्परागत सामग्री तथा विभिन्न जातजाति र समुदायको पहिचान एवम् कला संस्कृति झल्काउने खालका डमीको समेत उनले अवलोकन गरेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।

सभामुख महराका साथमा प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी, पूर्वसंविधानसभा सदस्य कृष्ण धिताल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो । 

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा हिजो आयोजना भएको चौथो भूकम्प स्मृति दिवसमा सहभागी हुन बुधबार साँझ गोरखा आइपुग्नुभएका सभामुख महरा आज गोरखाको तल्लो दरबार र माथिल्लो दरबारको अवलोकन गरी राजधानी फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्