
कोलम्बो- सुरक्षा निकायले गरेको सुरक्षा कारवाहीका क्रममा श्रीलंकामा १५ जना मारिएका छन् ।
सुरक्षा अधिकारीहरूले शनिवार दिएको जानकारीअनुसार शुक्रवार राति भएको सुरक्षा कारवाहीमा परी मारिनेमा ६ जना बालबालिका र ३ जना महिला समेत रहेका छन् ।
शंकास्पद व्यक्तिहरू लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरूले घेराहालेर आक्रमण शुरू गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।
'देशको पूर्वी ठाउँ काल्मुनाइमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि रहेका छन् । उनीहरूले आत्मघाती विस्फोट गराएका प्रहरीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
घटनास्थलबाट प्रहरीले शनिवार विहानै शव उठाएको छ । उनीहरूले खोजी अभियान पनि जारी राखेका छन् ।
झण्डै २५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडि तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेवारी लिएपछि उनीहरू विरुद्ध सरकारी सुरक्षाकर्मीहरूले खोजी तथा कारवाही अभियान तीव्र पारेका छन् ।
श्रीलंकाको प्रहरी र सेनाले संयुक्त रूपमा शुरू गरेको खोजी तथा कारवाही अभियान आईएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
सुरक्षा कारवाहीका क्रममा अहिलेसम्म सुरक्षाकर्मी तर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ ।
घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरू नै दोषी रहेको भन्दै उनीहरूलाई बर्खास्त गरिएको छ ।
तस्वीर : बीबीसी