
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तृणमूल कांग्रेसका ४० विधायकहरू आफ्नो सम्पर्कमा रहेको र भाजपाले चुनाव जितेपछि उनीहरूले आफ्नो पार्टी छोड्ने सोमवार बताएका छन् ।
उनले तृणमूल कांग्रेसकी नेत्री ममता बनर्जीमाथि भाइभतिजावादको आरोप लगाए र उनले बंगालमा आफ्नो भान्जोलाई स्थापित गराउन खोजेको दाबी गरे ।
ममताको प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षाप्रति व्यंग्य गर्दै उनले भने, ‘दिदी, दिल्ली निकै टाढा छ ।’
श्रीरामपुरमा एउटा चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘तृणमूलका ४० विधायक मेरो सम्पर्कमा छन् र भाजपाले चुनाव जितेपछि तपाईंका विधायकले पार्टी छोड्नेछन् । तपाईंको राजनीतिक धरातल भासिएको छ ।’
हारको अनुभव गरेर ममता बनर्जी बारम्बार रिसाइरहेको भनी व्यंग्य गर्दै मोदीले प्रधानमन्त्री बन्ने सपना समेत ममताले देख्न नसक्ने बताए ।
तृणमूल कांग्रेसका नेता डेरेक ओब्रायनले चाहिँ प्रधानमन्त्रीले चुनावको परिणाम आउनुअघि नै सांसद तानातानको घिनलाग्दो खेल्न थालेको आरोप लगाए ।
एजेन्सी