
बुटवल – तिलोत्तमा व्यापार संघले शिलान्यास गर्न लागेको सचिवालय भवन स्थानीयले रोकेका छन् ।
तिलोत्तमा व्यापार संघले वडा नम्बर ५ मा शिलान्यास गर्न लागेको सचिवालय भवन स्थानीयले विरोध गर्दै रोकेका हुन् ।
संघले शिलान्यासका लागि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख (मेयर) वासुदेव घिमिरेलाई प्रमुख अतिथिका रुपमा बोलाएको थियो । तर कार्यक्रमस्थलमा पुग्दा स्थानीयको विवाद भएपछि नगर प्रमुख घिमिरे मञ्चमै नपुगी बाटोबाटै फकिएका थिए । स्थानीयले सार्वजनिक जग्गा संघसंस्थालाई हडप्न नदिने भन्दै विरोध जनाएका हुन् ।
उनीहरूले संस्थालाई भवनका लागि जग्गा दिँदा टोल कमिटीसँग छलफल नगरेको आरोप लगाएका छन् ।
स्थानीय काशिनाथ पाण्डेले वडा नम्बर ५ मा गार्डेन सहितको बृद्धाश्रम बनाउने भनिएको भएपनि अहिले संघसंस्थालाई जग्गा दिएका कारण विरोध गरिएको बताए । वडा नम्बर ५ मा धेरै सार्वजनिक जग्गा नभएकाले सरकारी प्रयोजनका लागि भने आफूहरूले जग्गामा विरोध नगर्ने उनले बताए ।
३ वर्षअघि जनप्रतिनिधी नआउँदा नै सर्वदलीय बैठकले संघलाई वडा नम्बर ५ मा १५ कठ्ठा जग्गा दिएकाले भवन शिलान्यास गर्न पुगेको तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले बताए । ३ वर्षअघि तिलोत्तमा उद्योग वाणिज्य संघ र व्यापार संघलाई एकै पटक निर्णय गरेर जग्गा दिएपछि उद्योग बाणिज्य संघले भवन निर्माण गरिसकेको छ ।