
काठमाडौं – थाइल्यान्डका राजा वजीरालंगकर्नले सबैलाई छक्क पार्दै आफ्नी अंगरक्षकसँग विवाह गरेका छन् । यससँगै उनलाई रानी सुतिदाको उपाधि पनि दिइएको छ ।
केही दिनपछि थाइल्यान्डका राजाको आधिकारिक रूपमा राज्याभिषेक हुन लागेको छ ।
शाही विवाहको घोषणा शाही गजेटमा गरिएको छ । बुधवार भएको विवाहका कर्ममाण्ड थाई टेलिभिजन च्यानलमा पनि प्रसारण गरिएको थियो ।
शाही बयानअनुसार, राजा वजीरालंगकर्नले जर्नेल सुतिदालाई रानी बनाएका हुन् । उनले शाही परिवारका सदस्य जस्तै सबै शाही उपाधि र दर्जा प्राप्त गर्नेछिन् ।
पिता राजा भूमिबोल अतुल्यतेजको निधनपछि ६६ वर्षीय वजीरालंगकर्न थाइल्यान्डको संवैधानिक राजतन्त्र प्रमुख बनेका थिए । भूमिबोल ७० वर्षसम्म राजगद्दीमा बसेका थिए ।
यही हप्ता बौद्ध तथा ब्राह्मण रीतिरिवाजका साथ उनको राज्याभिषेकको तयारी चलिरहेको छ । त्यसक्रममा निकै भव्य जुलुस पनि निकालिनेछ ।
सुतिदाको उमेर ४० वर्ष बताइएको छ र उनी थाई एयरवेज इन्टरनेसनलमा फ्लाइट अटेन्डेन्ट पनि भइसकेकी छन् ।
सन् २०१४ मा वजीरालंगकर्नले सुतिदा तिदजईलाई आफ्नो अंगरक्षक इकाइको उपकमान्डर नियुक्त गरेका थिए । सन् २०१६ को डिसेम्बर महिनामा सुतिदालाई आर्मीमा जर्नेल बनाइएको थियो । उनलाई शाही उपाधि थानपुयिङ पनि दिइएको थियो ।
सुतिदा लामो समयदेखि राजासँग देखिएकी हुन् तैपनि उनीहरूबीचको सम्बन्धका विषयमा आधिकारिक रूपमा केही कुरा पनि सार्वजनिक भएको थिएन ।
थाई राजाले यसअघि तीनचोटि बिहे गरिसकेका छन् र डिभोर्स पनि लिइसकेका छन् । उनका सात सन्तान छन् । सुतिदा र उनी धेरैजसो समय जर्मनीमा बिताउँछन् । म्युनिखमा १२ लाख डलर मूल्य पर्ने महलमा बस्छन् वजीरालंगकर्न ।
पिताको मृत्युपछि वजीरालंगकर्नले गद्दी सम्हालेको भए पनि आधिकारिक राज्याभिषेकका लागि राजा भूमिबोलको शोकको समय पूरा हुने प्रतीक्षा गरिरहेका थिए । राज्याभिषेकमा ३० लाख डलर जति खर्च हुने अनुमान गरिएको छ ।
एजेन्सी