
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रवार आयोजित साक्षात्कार कार्यक्रममा उनले यही महिनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताए ।
समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति गठन गरिएको भन्दै उनले जायज गुनासो मात्र सम्बोधन हुने धारणा राखे । उनका अनुसार प्रशासनिक सेवा समूहका अधिकांश गुनासोलाई सम्बोधन गरिसकेको छ । ‘प्रशासनिकबाहेक अन्य सेवा समूहका गुनासोलाई १–१ गरेर अध्ययन गर्ने कार्य भइरहेको छ,’ उनले भने, ‘कर्मचारी समायोजन ऐनअनुसार नै मिल्ने गरी आएका गुनासोलाई सम्बोधन गरिने छ ।’
उनका अनुसार काम गरिरहेका ठाउँभन्दा धेरै टाढा कर्मचारी समायोजन गरिएका, पतिपत्नी फरक ठाउँमा परेका, शारीरिक अपांगता भएका, कडा रोग लागेका कर्मचारीका हकमा निवेदनका आधारमा पुनः समायोजन गरिने छ । मन्त्री पण्डितले गुनासोमध्ये महिलालाई प्राथमिकतामा राखिने जानकारी गराए ।
सरकारले गत चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा करीब १ लाख ३१ कर्मचारी समायोजन गरेको थियो । समायोजनप्रति असन्तुष्टि जनाउँदै करीब २० हजार कर्मचारीले पुनरावलोकनका लागि गुनासो व्यवस्थापन समितिमा निवेदन दर्ता गराएका छन् ।
उनले जनताका काम सबैभन्दा बढी स्थानीय तहमा हुने भएकाले स्थानीय तहमा पहिला कर्मचारी पदपूर्ति गरिने जानकारी गराए । ‘स्थानीय तहमा रिक्त कर्मचारीको विवरण माग गरिएको छ,’ उनले भने, ‘स्थानीय तहले रिक्त विवरण पठाएपछि लोकसेवा आयोगलाई आउने साता विज्ञापनका लागि पत्र पठाइने छ ।’ आगामी आर्थिक वर्षदेखि कर्मचारीको अभावले सेवा प्रवाहमा कठिनाइसमेत नहुने धारणा राखे ।