३१ असार २०८३, बुधबार

प्रदेश राजधानीबारे नेकपाको निर्णयविरुद्ध कांग्रेस, विराट क्षेत्रलाई कानूनले नचिन्ने दाबी

बैशाख २१, २०७६
प्रदेश राजधानीबारे नेकपाको निर्णयविरुद्ध कांग्रेस, विराट क्षेत्रलाई कानूनले नचिन्ने दाबी

विराटनगर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले विराटनगर आसपास बृहत् विराट क्षेत्रमा १ नम्बर प्रदेशको स्थायी राजधानी राख्ने भनेर गरेको निर्णयलाई नेपाली कांग्रेसले अस्वीकार गरेको छ ।

शुक्रवार साँझ नेकपा र कांग्रेसबीच भएको छलफलमा प्रदेशको स्थायी राजधानी बृहत् विराट क्षेत्रभित्र राख्ने भनेर नेकपाले ल्याएको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कानून विपरीत आएको बृहत् विराट क्षेत्रको राजधानी प्रस्तावलाई कांग्रेसले स्वीकार गर्न नसक्ने बताए । ‘नेकपाको तर्फबाट आएको प्रस्तावमा हामीले स्वीकार गर्ने आधार बनेन,’ उनले भने, ‘बृहत् विराट क्षेत्रलाई ओगटेर ल्याउने भन्ने कुरा हो, त्यसमा हामी सहमत छैनौं ।’ 

नेकपाको तर्फबाट त्यसमा अडान रह्यो भने आफूहरू पनि अडानमा बस्न तयार रहेको कार्कीले बताए । उनले कार्यव्यवस्था परामर्श समितिमा बृहत् विराट क्षेत्र भनेर प्रस्ताव आयो भने विरोध हुने उनले बताए ।

कार्कीले भने, ‘चिटिङ गरेर ल्याइन्छ भने त्यो मान्य हुँदैन, संविधानभन्दा माथि जाने अधिकार कसैलाई पनि छैन ।’ उनले बृहत् विराट क्षेत्रभन्दा पनि ठाउँ तोकेर प्रस्ताव ल्याउन सुझाव दिइएको बताए । बुढीगंगा, ग्रामथान, ईटहरी वा विराटनगर जुनसुकै ठाउँ भएपनि ठाउँ तोकेर संवैधानिक र कानूनी रुपमा प्रस्ताव आउनुपर्ने बताए ।’

‘कांग्रेस हचुवाको भरमा सहमति गर्दैन । संविधान मान्ने पार्टी हो, संविधान र कानून अनुसार मात्र निर्णय गरिनुपर्छ,’ कार्कीले भने, ‘अहिलेको निर्णयलाई हेर्दा सुतेको विराटनगरलाई अशान्तितिर धकेल्न खोजेको देखिन्छ ।’

नेकपा र कांग्रेसबीच करीब १ घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोइरालाले सत्ता पक्षको निर्णय पर्खिएर बसेको बताए । तर चितबुझ्दो निर्णय नआउँदा समर्थन गर्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे । उनले भने, ‘छलफल एउटा मिलन बिन्दूमा पुग्यो भने ठीकै छ,’ उनले भने, ‘हैन भने हामीले ल्याउने प्रस्ताव त छँदैछ ।’ नेपाली कांग्रेसको बटमलाइन विराटनगरलाई राजधानी तोकेर जानुपर्छ भन्ने देखिएको छ । 

यसैबीच ३ जना सदस्य रहेको संघीय समाजवादी फोरमले फरक मत राख्दै प्रस्ताव दर्ताको तयारी गरेको छ । संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले प्रदेशको नाम किराँत–लिम्बुवानको पक्षमा फरक प्रस्ताव लिएर जाने तयारी गरेको बताए । तर राजधानी विराटनगर महानगरपालिकाभित्र हुनुपर्ने उनले दाबी गरे । ‘यदि विराटनगरबाट अन्यत्र राजधानी लगिन्छ भने धनकुटा लगिनुपर्छ, अन्यथा स्वीकार्य हुँदैन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्