२८ जेठ २०८३, बिहीबार

अर्थ समितिको सुझाव मन्त्रीलाई अपूरो, यस्तो यस्तो ‘सुझाव दिनुस्’ भन्दै उल्टै सुझाव

बैशाख २५, २०७६
अर्थ समितिको सुझाव मन्त्रीलाई अपूरो, यस्तो यस्तो ‘सुझाव दिनुस्’ भन्दै उल्टै सुझाव

काठमाडौं – संघीय संसदको अर्थ समितिले देशभर विभिन्न ठाउँबाट बटुलेर ल्याएका सुझाव अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको छ । 

बुधवार बिहान अर्थमन्त्री खतिवडालाई समितिमा बोलाएर सुझाव बुझाइएको हो ।

अर्थ समितिले वैशाख पहिलो साता ७ वटै प्रदेशमा गएर आगामी आर्थिक वर्ष २०७६/०७७ को पूर्व बजेट छलफल कार्यक्रम गरेको थियो । कार्यक्रमबाट आएका सुझाव समितिले अर्थमन्त्री खतिवडालाई बुझाएको छ ।

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा गठित १५ सदस्यीय उपसमितिले १ नम्बर प्रदेशको झापा र विराटनगर, २ नम्बरको जनकपुर र विरगञ्ज, ३ नम्बरको हेटौडामा गएर पूर्व बजेट छलफल गरेको थियो । गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र नेपालगञ्ज, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा पूर्व बजेट छलफल गरिएको थियो । ७ वटै प्रदेशमा गरिएका छलफल कार्यक्रममा ४ सय ८६ जनाको सहभागिता रहेको अर्थ समितिले जनाएको छ ।

समितिका अनुसार छलफलमा सरकारी कर्मचारी, किसान, व्यवसायी, जनप्रतिनिधि र पत्रकारको सहभागिता थियो । छलफबाट आएका राय, सल्ला सुझावलाई समेटेर समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमाथि बिहीवार थप छलफल गरी अन्तिम प्रतिवेदन बनाउने र त्यसपछि अर्थमन्त्रीलाई निर्देशनका रुपमा बुझाउने तयारी अर्थ समितिले गरेको छ ।

यस्ता छन् सुझाव

अर्थ समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा संकलन गरिएका सुझावमा बजेटले आर्थिक वृद्धि र दीगोपनालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ । कृषि क्षेत्रमा बढी लगानी गर्नुपर्ने, पूर्वाधार विकासका लागि यातायातमा लगानी गर्नुपर्ने, सामाजिक विकासका लागि शिक्षामा बढी लगानी गर्नुपर्ने लगायतका सुझाव उल्लेख गरिएका छन् । 

स्थानीय तह र प्रदेश सरकारसँग समन्वयको अभाव देखिएको भन्दै ती तहसँग पनि समन्वय हुनुपर्ने सुझाव समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । कृषिजन्य उत्पादन र बजार क्षेत्रमा ३ तहबीच समन्वय हुनुपर्ने समितिको सुझाव रहेको छ । विप्रेषणको उपयोग, ऊर्जा र कृषिजन्य उद्योगमा लगानी गर्नुपर्ने र कृषिमा जाने अनुदान कृषि उत्पादनमै केन्द्रित गर्नुपर्ने सुझाव समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री भन्छन् – थप सुझाव चाहियो

अर्थमन्त्री खतिवडाले समितिले मन्त्रालयलाई उपयोगी हुने सुझाव सहितको प्रतिवेदन बनाएको बताए । ‘अर्थ मन्त्रालयलाई धेरै उपयोगी हुने र धेरै सहयोगी हुने प्रतिवेदन आएको छ,’ उनले भने, ‘त्यसका लागि समितिलाई धेरै–धेरै धन्यवाद !’ 

उनले समितिले संकलन गरेका सुझावका आधारमा दिएका निर्देशन पनि पालना गरिने र त्यसमा थप सुझाव दिन समितिलाई आग्रह गरे । ‘समितिको निर्देशनलाई हामीले पालना गर्छौं,’ उनले भने, ‘तर डीपीआर नभएका आयोजनाहरू बजेटमा नराखौं भन्ने सुझाव हामी चाहन्छौं । त्यसो भयो भने हामीलाई अलि सजिलो हुन्छ ।’ अलपत्र आयोजनाबारे पनि समितिले सुझाव दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई थियो ।

salt training

कमेन्ट गर्नुहोस्