
दमौली- तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गरेका छन् ।
सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट ७८ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए । वडाध्यक्ष पोखरेलले विद्यालयलाई सहयोग गर्ने ७८ हजारमध्ये ५० हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोखरेललाई बुधबार हस्तान्तरण गरेका छन् ।
माध्यमिक विद्यालयमा सबैको चासो भएपनि प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि कम मात्रामा चासो हुने गरेकोले आफ्नो तलबवापतको रकम प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि खर्च गर्ने उद्देश्य राखेको गाउँपालिकाका प्रवक्तासमेत रहेका पोखेरेलले बताए ।
उनले भने, 'प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि धेरैको ध्यान जान सकेको छैन । मैले तलब बापतको दश हजार मासिकरूपमा प्राथमिक विद्यालयलाई दिने सोच बनाएको छु ।' उनका अनुसार सोही वडाको ज्योति प्राथमिक विद्यालय र भङ्गेरी प्राथमिक विद्यालयलाई समेत वार्षिक रूपमा २६-२६ हजार सहयोग गरिनेछ