०४ साउन २०८३, सोमबार
मुख्य समाचार

कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने, भियतनामी प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

बैशाख २९, २०७६
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने, भियतनामी प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली प्रिसिडेन्सियल हाउस पुग्दा भियतनामी प्रधानमन्त्रीले स्वागत गरेका थिए भने भियतनामी सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । 

उनीहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास र समृद्धिका विविध आयामबारे छलफल भएको थियो । द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि छलफल भएको नेपाली प्रतिनिधिमण्डलका सदस्य थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिए । 

आगामी वर्ष २०२० मा हुने नेपाल भ्रमण वर्षमा नेपालले वैशाख दिवस आयोजना गर्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले ‘लुम्बिनी परियोजना निर्माण गरौँ’ भन्ने कार्यक्रममा हातेमालो गर्न भियतनामसँग आग्रह गरे ।  प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निम्तो पनि दिएका छन् । 
 
दुई प्रधानमन्त्रीले कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता, दुई सरकारबीचको द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र र व्यापार एवं लगानी ढाँचा सहमतिको आशयपत्रबारे  पनि छलफल गरेको बताइएको छ ।

सो अवसरमा भियतनामी प्रधानमन्त्री फुकले दुई देशबीच कृषि र पर्यटन क्षेत्रमा सहयोग वृद्धिबारे आफ्ना धारणा राखेको भियतनामी अधिकारीले जनाएका छन् । उनले  आफू नेपालको समग्र विकासका लागि सहयोग गर्न इच्छुक भएको पनि बताए ।

यसैबीच नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पु¥याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।

सो अवसरमा कूटनीतिक प्रवेशआज्ञा छुट तथा सरकारी राहदानीमा रहेका अवरोध हटाउने र दुई देशबीचमा सम्बन्धका विषयमा विचारविमर्श गर्न द्वीपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा सम्झौता भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गरे । 

त्यसैगरी व्यापार तथा लागानी संरचनासम्बन्धी सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरे । 
१२ भारतीय नागरिक नियन्त्रणमा

प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरूलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । 

नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

 मुख्य शहरमा आमसभा 

नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

कार्यक्रम तालिकाअनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगञ्ज, १७ गते भैरहवा, १८ गते नेपालगञ्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम छ । 

कर्मचारीको तलब बढ्ने
आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ । आगामी आवको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ । मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ । तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरी आन्तरिक गृहकार्य र छलफल थालिएको पुनरावलोकन समितिका एक सदस्यले बताए ।
कर्मचारीको तलब वृद्धि तीन वर्षदेखि भएको छैन । बजारको महंगीअनुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन । राजधानी दैनिकमा खबर छापिएको छ। 
मिडिया काउन्सिल विधेयकबारे 

सरकारले मिडिया काउन्सिल गठन गर्ने प्रावधानसहितको विधेयक संसद्मा दर्ता गरेपछि नेपाली सञ्चार क्षेत्रमा विभिन्न तर्कवितर्क उठन थालेका छन् ।

केही सञ्चारकर्मीले उक्त विधेयक तुरुन्त फिर्ता गर्नुपर्ने माग गरेका छन् भने केही सञ्चारकर्मीले उक्त विधेयक सञ्चारकर्मीको घाँटी निमोठ्ने हिसाबले नआएको र आन्दोलनमा जानु नै पर्ने अवस्था अहिले सिर्जना नभएको विचार व्यक्त गरेका छन् ।

उनीहरुले केही समस्या भए सञ्चारमन्त्रीसँग कुरा राखेर छलफल गरी समाधान गर्न सकिने राय व्यक्त गरेका छन् । व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएकाले पनि सञ्चार क्षेत्रमा नियमन तथा अनुशासन कायम गर्न यस्तो विधेयक ल्याएको उनीहरुको धारणा छ ।

प्रहरीका दुई ब्यूरो स्थापना 

नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्यूरो स्थापना भएको हो । 

सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघिको संसद्मा बोलिएको असंसदीय शब्दलाई तत्काल हटाउन सभामुखले हिम्मत गर्न नसकेको बताएका छन् ।  शनिबार धनगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले संसद्मा प्रधानमन्त्रीले संसदीय परम्परा बाहिर गएर बोलेको जिकिर गर्दै बोलिएका शब्द ढिलो भए पनि रेकर्डबाट हटाइँदा राम्रो भएको बताए । 
  
देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रता, न्यायालय सबै क्षेत्रमा हस्तक्षेप भएको भन्दै पार्टीले थालेको जनजागरण अभियानका क्रममा सरकारले गरेका गलत कामको खबरदारी गर्न लागिएको बताए । 
 
एघार खर्ब, ९८ अर्ब लगानी गर्ने लक्ष्य

प्रदेश नं ५ सरकारले आगामी पाँच वर्षो आवधिक योजना अन्तर्गत कूल रु एघार खर्ब, ९८ अर्ब लगानी गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६÷७७ देखि आथिर्क वर्ष ०८०÷८१ सम्मको अवधिमा प्रदेशभरी सो बराबरको आर्थिक लगानी गर्ने लक्ष्य लिइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सो लगानीमध्ये करीब ६२ दशमलब ६ प्रतिशत अर्थात रु सात खर्ब, ५० अर्ब, २५ करोड लगानी निजी क्षेत्रबाट रहने लक्ष्य लिइएको जानकारी दिए । 

त्यसैगरी सो अवधिमा सार्वजनिक क्षेत्रबाट कूल रु तीन खर्ब ९५ अर्ब, ७५ करोड लगानी हुने लक्ष्य रहेको छ भने सङ्घीय सरकारबाट १४४ अर्ब, प्रदेश सरकारबाट १४८ अर्ब र स्थानीय तहको तर्फबाट १०२ अर्ब लगानी हुने लक्ष्य रहेको मन्त्री चौधरीले बताए । 

सोमबारसम्म वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु बासीले बताइन् ।

छात्रवृत्तिको परीक्षामा आठ सय विद्यार्थी सहभागी

नयाँ व्यवस्था अनुसार देशभरमै पहिलो पटक मध्यपुरथिमि नगरपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गरेको छ । 

स्थानीय सरकारको मातहतमा प्रदान गरिने छात्रवृत्ति वितरणका लागि नगरपालिकाले कौशल्टारस्थित जनप्रेमी माध्यामिक विद्यालयमा छात्रवृत्तिको परीक्षा सञ्चालन गरेको हो । नगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका संयोजक मदनसुन्दर श्रेष्ठले छात्रवृत्तिलाई पारदर्शी रुपमा वितरण गर्ने लक्ष्यले पाँच प्रतिशत विद्यालय आफैले र पाँच प्रतिशत नगरपालिकाले छनोट गरेको विद्यार्थीलाई छात्रवृत्ति दिइनुपर्ने संस्थागत विद्यालयसँग भएको सहमतिअनुसार परीक्षा सञ्चालन गरेको बताए । 
६६ मेट्रिक टन युरिया मल बरामद

कपिलवस्तुबाट शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो मात्रामा युरिया मल नियन्त्रण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकीका आधारमा दुई हजार ६४० बोरा मल नियन्त्रणमा लिएको हो । चार सय ४० बोरा मल कम्पनीमै सिल गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ । 


 

कमेन्ट गर्नुहोस्